खोटाङमा मकैबालीमा फौजी किराको प्रकोप, किसान चिन्तित

खोटाङ । बाँदरको आतंकबाट जोगाउँदै लगाइएको मकैबाली अहिले फौजी किराको प्रकोपले नष्ट हुन थालेपछि खोटाङका किसान थप समस्यामा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा मकैको कलिलो बिरुवा सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

खोटाङ का दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकालगायत क्षेत्रमा फौजी किराले मकैबालीमा ठूलो क्षति पुर्‍याएको किसानहरूले बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, वडा नं. १४ बुईपा, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको आक्रमण तीव्र देखिएको छ ।

लफ्याङका स्थानीयका अनुसार तिल्केनी, तित्रीबोटे, पुरानोगाउँ, बास्तोलागाउँ र माझगाउँ क्षेत्रमा खेत तथा बारीमा लगाइएको मकैमा फौजी किराले व्यापक क्षति पुर्‍याएको छ । “सुरुमा खेतको मकैमा लागेको किरा अहिले बारीसम्म फैलिएको छ,” उनले भने ।

खोटेहाङ गाउँपालिका–८ सिमपानीका स्थानीय शिखर कतिवडा ले चैतमा छरेको मकैमा फौजी किरा लागेपछि विषादी प्रयोग गरेर नियन्त्रण गर्ने प्रयास गरिएको बताए । तर बैसाखमा छरेको पछिल्लो मकैबालीमा पनि पुनः प्रकोप देखिएको उनले जानकारी दिए ।

किसानका अनुसार फौजी किराले मकैको गुवादेखि पातसम्म खाइदिने भएकाले बिरुवा बढ्न नपाई सुक्ने र उत्पादन घट्ने समस्या देखिएको छ ।

कृषि ज्ञान केन्द्र खोटाङ का अनुसार जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको आक्रमण देखिएको छ । विशेषगरी ढिलो छरिएको वा पछौटे मकैमा यसको प्रभाव बढी रहेको जनाइएको छ ।

कृषि ज्ञान केन्द्रका सहायक बाली संरक्षण अधिकृत हरिनारायण राई ले फौजी किरा नियन्त्रणका लागि इमामेक्टीन बेन्जोएट ५ एससी तथा स्पीनोस्याड ४५ एससी पानीमा मिसाएर स्प्रे गर्न सुझाव दिएका छन् । साथै निमको तेल वा वनस्पति विषादी प्रयोग गर्नु स्वास्थ्यका दृष्टिले सुरक्षित र प्रभावकारी हुने उनले बताए । पछिल्ला केही वर्षयता जिल्लाका १० वटै स्थानीय तहमा फौजी किराको प्रकोप फैलिन थालेपछि किसानले समयमै नियन्त्रण कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *