फरार जीबी राईका कम्पनी अझै सञ्चालनमा, बचतकर्ताले पाएनन् आफ्नै पैसा
काठमाडौं । सहकारी ठगी प्रकरणमा पाँच वर्षदेखि फरार रहेका जीबी राई पक्राउ नपरे पनि उनले सञ्चालन गरेका निजी कम्पनी भने अझै सक्रिय रहेको पाइएको छ । सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलन भएको आरोप लागेपछि फरार भएका राईविरुद्ध विभिन्न अदालतमा मुद्दा चलिरहेका छन्, तर उनको लगानी रहेका कम्पनीमाथि प्रभावकारी कारबाही नहुँदा बचतकर्तामा आक्रोश बढेको छ ।
नेपाल प्रहरीका अनुसार राईले एक दर्जनभन्दा बढी सहकारी संस्थामार्फत करिब २१ अर्ब रुपैयाँ बचत अपचलन गरेका छन् । उनी हाल मलेसियामा रहेको सूचना प्रहरीसँग भए पनि अहिलेसम्म पक्राउ गरेर नेपाल ल्याउन सकिएको छैन ।
यता, सहकारीको रकम लगानी गरिएका नेचर हर्ब्स, गोर्खा आयुर्वेद प्रालि, गोरखा हर्बल प्रोडक्सन, जीबी ग्रुप अफ कम्पनी लगायतका कम्पनी भने सञ्चालनमै रहेको पीडितहरूको आरोप छ ।
स्वर्णलक्ष्मी सहकारी पीडित संघर्ष समिति का संयोजक सुमन खनाल ले राज्य संयन्त्रकै संरक्षणका कारण जीबी राई पक्राउ नपरेको आरोप लगाए । “सरकारले चाहेको भए उनलाई धेरै अघि नै पक्राउ गरेर ल्याउन सक्थ्यो,” उनले भने, “हामीलाई जीबी होइन, हाम्रो बचत फिर्ता चाहिएको हो ।”
प्रहरी अनुसन्धानअनुसार जीबी राईले सहकारीको रकम विभिन्न निजी कम्पनीमा लगानी गरेका थिए । हर्बो इन्टरनेसनल प्रालिमा मात्रै १० करोड २७ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको पाइएको छ । त्यस्तै जीबी ग्रुप अफ कम्पनी, गोरखा हर्बल प्रोडक्सन तथा गोरखा ग्रुप अफ कम्पनीमा समेत करोडौं रुपैयाँ लगानी गरिएको विवरण प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।
काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था मा मात्रै ३ अर्बभन्दा बढी बचत अपचलन भएको आरोप छ । यसबाहेक सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लगायत विभिन्न सहकारीबाट रकम हिनामिना गरिएको बताइएको छ ।
पीडितहरूका अनुसार जीबी राई आबद्ध केही सहकारी अझै समस्याग्रस्त घोषणा भएका छैनन् । सम्बन्धित निकायमा पटक–पटक धाउँदा पनि एउटा कार्यालयले अर्को कार्यालयमा पठाएर झुलाउने काम मात्रै भइरहेको उनीहरूको गुनासो छ ।
जीबी राईबाहेकका सञ्चालक तथा व्यवस्थापकहरू नेपालमै खुला रूपमा हिँडिरहे पनि उनीहरूलाई जिम्मेवार नबनाइएको पीडितको आरोप छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो का प्रवक्ता शिवकुमार श्रेष्ठ ले जीबी राईको विषयमा नयाँ सूचना प्राप्त नभएको बताए । उनका अनुसार खोजी कार्य भने निरन्तर जारी छ ।
यता प्रतिभा रावल ले सरकार व्यक्ति विशेषभन्दा पनि समग्र सहकारी समस्या समाधानमा केन्द्रित रहेको बताइन् । उनले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु भइसकेको र त्यसका लागि सरकारले चक्रीय कोष स्थापना गरेको जानकारी दिइन् ।
मन्त्री रावलका अनुसार बचत अपचलनमा लगानी भएका कम्पनीबाट पनि असुली प्रक्रिया अघि बढाइनेछ । “फरार व्यक्तिहरूको खोजी कार्य पनि निरन्तर हुन्छ,” उनले भनिन्, “बचतकर्ताको रकम फिर्ता गर्ने विषयमा सरकारले कानुनी रूपमा कुनै कसर बाँकी राख्दैन ।”
