डिडीसीले सुरु गर्‍यो किसानलाई धमाधम भुक्तानी, चार महिनाको बक्यौतामध्ये १२ करोड वितरण

काठमाडौं । लामो समयदेखि भुक्तानी नपाएर समस्यामा परेका दुग्ध किसानलाई दुग्ध विकास संस्थान ले रकम वितरण प्रक्रिया तीव्र बनाएको छ । संस्थानको सुधार कार्ययोजना लागू भएपछि अहिले दैनिक रूपमा करिब एक करोड रुपैयाँ किसानको खातामा भुक्तानी हुन थालेको सरकारको दाबी छ ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी का अनुसार पछिल्लो चार महिनामा संकलित करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये हालसम्म १२ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिसकिएको छ ।मन्त्रालयले बाँकी रकममध्ये एक महिनाको भुक्तानी आगामी असार १३ गतेभित्र गर्ने तयारी भइरहेको जनाएको छ । बाँकी करिब ४६ करोड रुपैयाँ भने आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा किसानलाई उपलब्ध गराइने योजना रहेको बताइएको छ ।

मन्त्रालयका अनुसार डिडीसीको दैनिक कारोबार अहिले करिब एक करोड रुपैयाँ पुगेको छ । सोही आम्दानीलाई प्राथमिकताका साथ किसानको बक्यौता भुक्तानीमा प्रयोग गरिएको जनाइएको छ । मन्त्री चौधरीले दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै उनीहरूको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । उनले किसानको बक्यौता चाँडो फर्छ्योट गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *