सुन्दर बाटिका एकेडेमीमा ११औँ एसक्यूसी मोरङ हब सम्मेलन सम्पन्न, विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा जोड

एलएन गच्छदार

मोरङ। विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन, नेतृत्व क्षमता विकास तथा सिर्जनशील सोच अभिवृद्धि गर्ने उद्देश्यले ११औँ हब सम्मेलन अन एसक्यूसी (स्कुल क्वालिटी सर्कल) मोरङमा सम्पन्न भएको छ।

क्वेस्ट नेपालको मातहतमा मोरङ हबद्वारा आयोजित सम्मेलन शुक्रबार सुन्दरहरैँचा नगरपालिका–७ स्थित सुन्दर बाटिका एकेडेमीमा सम्पन्न भएको हो। ‘एसक्यूसी : कल्टिभेटिङ एम्प्याथी थ्रु एसक्यूसी’ अर्थात् एसक्यूसीमार्फत सहानुभूतिको भावना विकास गर्ने मूल विषयमा केन्द्रित सम्मेलनको आतिथ्यता सुन्दर बाटिका एकेडेमीले गरेको थियो।

सम्मेलनमा विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामूहिक कार्यशैली, सहकार्य र समस्या समाधान गर्ने सीप विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले केस स्टडी प्रस्तुति तथा प्यानल डिस्कसनमार्फत आफ्ना अनुभव, विचार र धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी नेसनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुनील दत्तले एसक्यूसी विद्यार्थीमा अन्तर्निहित प्रतिभा र क्षमता प्रस्फुटन गराउने प्रभावकारी शैक्षिक प्लेटफर्म भएको बताए।

उनका अनुसार क्वेस्ट नेपालको मातहतमा देशभर मंसिर १५ गतेसम्म विभिन्न हब सम्मेलन सञ्चालन भइरहेका छन्। हब सम्मेलनहरू सम्पन्न भएपछि विद्यार्थीहरू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तयार हुनेछन्।

दत्तले एसक्यूसीले विद्यार्थीलाई विद्यालय, घरपरिवार र समुदायमा देखिएका समस्याको पहिचान, विश्लेषण, प्राथमिकता निर्धारण तथा समाधानका उपाय खोज्न सिकाउने बताए। समस्याको मूल कारण पत्ता लगाई योजना निर्माण, कार्यान्वयन र अनुगमन गर्ने प्रक्रियाले विद्यार्थीमा व्यवहारिक ज्ञानसँगै नेतृत्व र निर्णय क्षमता विकास हुने उनको भनाइ छ।

सम्मेलनको आतिथ्यता गरेको सुन्दर बाटिका एकेडेमीका प्रिन्सिपल विनोद फुयालले पनि विद्यालयमा विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको व्यवहारिक ज्ञान, सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासलाई महत्व दिँदै आएका छन्। विद्यार्थीलाई कक्षाकोठाको सिकाइसँगै व्यवहारिक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने विद्यालयको प्रयासले एसक्यूसीजस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

एसक्यूसी कार्यक्रम किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीलाई वास्तविक जीवनका समस्या पहिचान र समाधान गर्न सक्षम बनाउने अभ्यास हो। यसले विद्यार्थीमा सहानुभूति, सहकार्य, जिम्मेवारीबोध, सिर्जनशीलता र नेतृत्व क्षमताको विकास गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *