जनताको अपेक्षा पूरा गर्न विगतको आलोचनाभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुन रक्षा बमको आग्रह

काठमाडौँ । जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नयाँ सांसदहरूलाई अब विगतका ३५ वर्षको राजनीतिक भाष्य दोहोर्‍याएर मात्र नबस्न र आफ्नै कार्यकालको जिम्मेवारी पूरा गर्न ध्यान दिन आग्रह गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नयाँ जनप्रतिनिधिहरूको पनि कार्यकालको समय गणना सुरु भइसकेको उल्लेख गर्दै जनताले उनीहरूको काम, प्रतिबद्धता र परिणामलाई नजिकबाट नियालिरहेको बताएकी छन्।

नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’ भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईँहरूको पनि गन्ती सुरु भइसकेको छ, बमले लेखेकी छन्। उनले घरबारविहीन सुकुम्बासी, भूमिहीन नागरिक, बेरोजगार युवा तथा रोजगारीका लागि विदेशमा श्रम गरिरहेका नेपालीहरूले पनि नयाँ नेतृत्वको कामको प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन्। बमले अब सत्ता र जिम्मेवारी नयाँ जनप्रतिनिधिहरूकै हातमा आइसकेको भन्दै विगतको आलोचना भन्दा वर्तमानका समस्या समाधान र भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने बताएकी छन्।

अब डाडुपन्यु तपाईँहरूकै हातमा छ। अर्को निर्वाचनसम्म आइपुग्दा तपाईँहरूको पनि पाँच वर्ष पूरा भइसकेको हुनेछ। तपाईँहरूको बाचापत्र जनजनको हातमा छ। जनताले सम्झेका छन्, हेरिरहेका छन् र हिसाब पनि राखिरहेका छन्, उनले उल्लेख गरेकी छन्। उनको यो अभिव्यक्तिलाई नयाँ राजनीतिक नेतृत्वप्रति जनअपेक्षा, जवाफदेहिता र परिणाममुखी कामको मागका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *