समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

चितवन । चितवनका चैते धान किसानले सरकारले तोकेको समर्थन मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न नपाएपछि निराश बनेका छन्। उत्पादन तयार भइसक्दा पनि समयमै मूल्य निर्धारण र खरिद प्रक्रिया प्रभावकारी नहुँदा किसान मर्कामा परेका हुन्।

पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत करिब एक हजार हेक्टर क्षेत्रफलमा उत्पादन भएको चैते धानले समर्थन मूल्य नपाएको संस्थाका अध्यक्ष रामशरण पाठकले बताए।

यस्तै, भरतपुर महानगरपालिका–२८ स्थित राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले सरकारले घोषणा गरेको समर्थन मूल्य व्यवहारमा लागू नहुँदा किसान आर्थिक रूपमा प्रभावित भएको बताए। चितवनमा यस वर्ष चैते–५, हर्दिनाथ–१, पिआर र टाइचिन जातका धान खेती गरिएको छ। जिल्लाभर करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको कृषि विकास कार्यालय चितवनले जनाएको छ।

कार्यालय प्रमुख झलकनाथ कँडेलका अनुसार चैते धानको समर्थन मूल्य निर्धारण र कार्यान्वयन प्रक्रियामा ढिलाइ हुँदा किसानले अपेक्षित मूल्य पाउन सकेका छैनन्। किसानहरूले उत्पादन लागत बढ्दै गएको अवस्थामा उचित मूल्य नपाउँदा खेतीप्रतिको आकर्षण घट्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले राज्यले तोकेको समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्दै किसानको उत्पादन खरिदको सुनिश्चितता गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *