कोशी प्रदेशका ६ पालिकामा ६ करोडभन्दा बढीका नवप्रवर्तन परियोजना सुरु

सुनसरी । स्थानीय तहको सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी र नागरिकमुखी बनाउने उद्देश्यसहित कोशी प्रदेश सरकारले ६ वटा पालिकामा ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरका नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन गर्ने भएको छ।

प्रदेश सरकार र सम्बन्धित स्थानीय तहबीच शुक्रबार सम्झौता भएसँगै परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रममार्फत इलाम, धनकुटा, भोजपुर, मोरङ, खोटाङ र ओखलढुंगाका स्थानीय तहमा विभिन्न विकासमूलक कार्यक्रम सञ्चालन गरिनेछन्।

सम्झौताअनुसार इलामको रोङ गाउँपालिकामा १ करोड ५० लाख रुपैयाँ लागतमा ‘उद्यमशीलता तथा कृषि व्यवसाय प्रवर्द्धन परियोजना’ सञ्चालन हुनेछ। यसले कृषि उत्पादनलाई व्यवसायसँग जोड्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। धनकुटा नगरपालिकामा १ करोड ६५ लाख रुपैयाँ लागतको ‘डिजिटल स्थानीय आर्थिक सर्वेक्षण तथा ई–मार्केटिङ परियोजना’ सञ्चालन हुनेछ। यस परियोजनाले स्थानीय उत्पादनको बजार पहुँच विस्तार र आर्थिक गतिविधिको डिजिटल अभिलेखीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै भोजपुरको षडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ भने मोरङको सुन्दरहरैँचा नगरपालिकामा १ करोड २६ लाख ७५ हजार रुपैयाँ लागतमा ‘सुशासनसहितको समृद्धिका लागि प्रविधि’ कार्यक्रम लागू गरिनेछ।

खोटाङको खोटेहाङ गाउँपालिकामा ६० लाख रुपैयाँ लागतमा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम तथा ओखलढुंगाको लिखुपिके गाउँपालिकामा ७७ लाख ६० हजार रुपैयाँ लागतमा डिजिटल शिक्षा विकास तथा साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ। प्रदेश सरकारका अनुसार यी सबै परियोजना प्रदेश तथा स्थानीय तहको साझेदारीमा सञ्चालन हुनेछन्। परियोजनाबाट प्रदेशभरका चार लाख पाँच हजार ९४४ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा छनोट गरिएका परियोजनाले आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार प्रविधि, शिक्षा, स्वास्थ्य र उद्यमशीलतालाई एकसाथ जोड्ने यस्ता कार्यक्रमले स्थानीय सरकारको क्षमता अभिवृद्धिसँगै नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *