‘कालो सुन’ले फेरिँदै तेह्रथुमका गाउँ, अन्नबाली छाडेर अलैचीतर्फ किसानको आकर्षण
तेह्रथुम । तेह्रथुमका ग्रामीण भेगमा परम्परागत अन्नबालीको ठाउँ अलैचीले लिन थालेपछि स्थानीय अर्थतन्त्रमा नयाँ आशा पलाएको छ। केही वर्षअघिसम्म धान, मकै र कोदो फल्ने पाखाबारी अहिले ‘कालो सुन’ मानिने अलैचीका हरिया बगानले भरिन थालेका छन्।
कृषिमा बढ्दो श्रमिक अभाव, अन्नबालीबाट घट्दो आम्दानी र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षणका बीच किसानहरू नगदे बाली अलैचीतर्फ केन्द्रित भएका हुन्। जिल्लाका छथर, आठराई, फेदाप, मेन्छ्यायेम, लालिगुराँस र म्याङ्लुङ आसपासका क्षेत्रमा अलैची खेती तीव्र रूपमा विस्तार भइरहेको छ।
छथर गाउँपालिका–६ का कृषक सन्तकुविर आँखेवाका अनुसार परम्परागत खेतीबाट लागतसमेत उठाउन कठिन भएपछि अलैची खेती रोज्नुपरेको हो। अलैचीबाट प्राप्त आम्दानीले परिवारको दैनिकी, छोराछोरीको शिक्षा तथा अन्य घरायसी खर्च व्यवस्थापन गर्न सहज भएको उनले बताए।
एकपटक स्थापना गरेपछि वर्षौंसम्म उत्पादन लिन सकिने र बजारमा उच्च मूल्य पाउने भएकाले किसानहरूको आकर्षण बढेको छ। कतिपय किसानले केही रोपनीबाट सुरु गरेको खेती अहिले ३० देखि ५० रोपनीसम्म विस्तार गरेका छन्। बजार पहुँच भएका किसानले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्।
यद्यपि अलैची खेतीसँगै चुनौती पनि बढेका छन्। चिर्के र फुर्के रोगको प्रकोप, जलवायु परिवर्तनको असर, श्रमिक अभाव तथा बजार मूल्यको उतारचढाव किसानका मुख्य चिन्ताका विषय बनेका छन्। स्थानीय स्तरमा भण्डारण सुविधा अभाव हुँदा किसान उत्पादन तत्काल बिक्री गर्न बाध्य हुने गरेका छन्।
किसानहरूका अनुसार रोग नियन्त्रण, गुणस्तरीय बिरुवा, प्राविधिक परामर्श, सिँचाइ सुविधा र बजार व्यवस्थापनमा सरकारी सहयोग बढे अलैची खेतीले तेह्रथुमको ग्रामीण अर्थतन्त्रलाई अझ सशक्त बनाउन सक्नेछ। एक समय बाँझो देखिने पाखाबारी अहिले अलैची बगानमा परिणत हुँदै गाउँको समृद्धिको नयाँ आधार बन्दै गएको छ।
