सुन्दरहरैँचामा लागुऔषधविरुद्ध महाअभियान : ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर

एलएन गच्छदार 

सुन्दरहरैँचा । लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै युवापुस्तालाई कुलतबाट जोगाउने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरिरहेको विशेष महाअभियानअन्तर्गत मोरङको सुन्दरहरैँचामा बुधबार वृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सुन्दरहरैँचा नगरपालिकाको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा जेसिज भवनमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नगर उपप्रमुख अकाली चौधरी, पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, उद्योग वाणिज्य संघ सुन्दरहरैँचाका प्रतिनिधि तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुकुना माध्यमिक विद्यालय, सजिलाल माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय पचाम, माउन्ट मकालु विद्यालय गछिया लगायत विभिन्न शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। त्यस्तै, आश्रय सुधार केन्द्रका कार्यक्रम निर्देशक सेवक खत्री लगायत लागुऔषध नियन्त्रण तथा पुनर्स्थापनाको क्षेत्रमा सक्रिय व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताए। यसको नियन्त्रण प्रहरीको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले स्थानीय सरकार, प्रहरी, विद्यालय, अभिभावक, सामाजिक संघसंस्था तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे।

उनले विशेषगरी विद्यालय तथा कलेज तहका किशोरकिशोरी र युवालाई लागुऔषधको जोखिमबारे समयमै सचेत गराउनुपर्नेमा जोड दिँदै परिवार र विद्यालयले आफ्ना बालबालिकाको व्यवहार तथा संगतप्रति समेत ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल प्रहरीको टोलीले लागुऔषधविरुद्ध सन्देशमूलक गीत तथा नृत्य प्रस्तुत गरेको थियो। सांस्कृतिक प्रस्तुतिमार्फत लागुऔषध सेवनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे सन्देश दिइएको थियो। प्रस्तुतिले सहभागी विद्यार्थी तथा अभिभावकको ध्यान आकर्षित गरेको थियो।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले लागुऔषधविरुद्धको अभियानलाई समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले महाअभियान सञ्चालन भइरहेको बताए। उनले विशेषगरी किशोरकिशोरी तथा युवालाई लागुऔषध सेवनका जोखिम, यसबाट उत्पन्न हुने सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे सचेत गराउँदै सुरक्षित, सभ्य र जिम्मेवार समाज निर्माणतर्फ अभियान केन्द्रित रहेको बताए।

उनका अनुसार लागुऔषध नियन्त्रणका लागि प्रहरीको अनुसन्धान र कारबाहीसँगै रोकथाम, जनचेतना, परामर्श, पुनर्स्थापना र समुदायको सक्रिय सहभागिता उत्तिकै महत्वपूर्ण छन्।

 लागुऔषधको समस्यालाई केवल कानुनी विषयका रूपमा नभई सामाजिक समस्याका रूपमा बुझ्नुपर्नेमा जोड दिए। उनले दुर्व्यसनमा फसेकालाई घृणा वा बहिष्कारभन्दा पनि आवश्यक परामर्श, उपचार, पुनर्स्थापना र परिवारको साथ उपलब्ध गराउनुपर्ने बताए।

कार्यक्रमका अवसरमा लागुऔषध नियन्त्रण, जनचेतना अभिवृद्धि, युवालाई कुलतबाट जोगाउने तथा समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो।

प्रतिबद्धतापत्रमार्फत लागुऔषधको प्रयोग, ओसारपसार तथा बिक्रीवितरण नियन्त्रणमा सहयोग गर्ने, विद्यालय तथा समुदायमा नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, युवालाई सकारात्मक तथा सिर्जनशील गतिविधिमा जोड्ने र लागुऔषधविरुद्धको अभियानमा सबै पक्षको सहभागिता बढाउने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले लागुऔषधविरुद्धको अभियानलाई विद्यालय तहबाटै निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। सहभागीहरूले प्रहरी र स्थानीय तहको प्रयासमा विद्यालय, अभिभावक तथा समुदायको साथ थपिए मात्र दीर्घकालीन रूपमा लागुऔषध नियन्त्रण गर्न सकिने बताएका थिए।

मोरङमा लागुऔषधको समस्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले स्थानीय तह, विद्यालय तथा समुदायसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सुन्दरहरैँचामा सम्पन्न कार्यक्रमले पनि ‘लागुऔषधमुक्त समाज निर्माणमा सबैको साझा जिम्मेवारी’ भन्ने सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *