उपमेयरको नेतृत्वमा ट्राफिक सचेतना कार्यक्रम सुरु
एलएन गच्छदार
सुन्दरहरैँचा, मोरङ ।
सडक सुरक्षा र ट्राफिक नियमप्रति नागरिकलाई सचेत बनाउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा दुईदिने “उपमेयर ट्राफिक सचेतना कार्यक्रम” बुधबारदेखि सुरु भएको छ।
नगर उपप्रमुख अकली चौधरीको सभाध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक नारायण लुइँटेल तथा प्रहरी नायव निरीक्षक भक्तबहादुर तुम्रोकले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नगरपालिकाका सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले गर्नुभएको थियो।
“सचेत नागरिकको पहिचान, सुरक्षित सडक हाम्रो अभियान” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, दुर्घटना न्यूनीकरण तथा पैदलयात्री र सवारी चालकको जिम्मेवारीबारे जानकारी गराइएको थियो।
उपप्रमुख चौधरीले ट्राफिक नियमको पालना गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउँदै सचेतना अभिवृद्धिबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “सुरक्षित सडक निर्माणका लागि ट्राफिक प्रहरी, स्थानीय सरकार र नागरिकबीचको सहकार्य आवश्यक छ। विद्यार्थीहरू आजका सचेत नागरिक र भोलिका जिम्मेवार चालक भएकाले यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ। ट्राफिक नियमको पूर्ण पालना गरेर मात्रै सुरक्षित सुन्दरहरैँचा निर्माण गर्न सकिन्छ।”
कार्यक्रमअन्तर्गत नगर क्षेत्रमा सचेतनामूलक र्याली समेत आयोजना गरिएको थियो। र्यालीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा पैदलयात्रीलाई प्राथमिकता दिने जस्ता विषयमा जोड दिएका थिए।
नगरपालिकाले यस्ता कार्यक्रमले ट्राफिक नियमप्रति नागरिकको जिम्मेवारीबोध बढाई सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
