गछिया ट्राफिकद्वारा टिपर चालकलाई सडक सुरक्षा प्रशिक्षण
एलएन गच्छदार / फागुन ११ गते
दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गछिया ट्राफिक कार्यालयद्वारा टिपर चालकहरूका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
ट्राफिक प्रहरी सहायक निरीक्षक (प्र. स. नि.) दिपक कोईरालाको नेतृत्वमा आयोजित उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तथा विभिन्न निर्माण कम्पनीमा संलग्न टिपर चालकहरूलाई सडक सुरक्षा नियम, ट्राफिक संकेत, सुरक्षात्मक ड्राइभिङ तथा दुर्घटनाबाट बच्ने उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा ट्राफिक नियम उल्लङ्घनका कारण हुने दुर्घटनाको सम्भावना, ओभरस्पिड नियन्त्रण तथा चालकहरूको जिम्मेवारीबारे विशेष छलफल गरिएको थियो। साथै, व्यावसायिक चालकहरूले अपनाउनु पर्ने सावधानी र सुरक्षित यात्राका उपायहरूबारे समेत सचेतना जगाइयो।
ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक कोईरालाले सडक दुर्घटनाको मुख्य कारण मध्ये लापरवाही, तीव्र गति तथा नियम उल्लङ्घन रहेको बताउँदै सुरक्षित यात्राका लागि चालकहरूलाई जिम्मेवार भएर गाडी सञ्चालन गर्न आग्रह गरे।
सडक दुर्घटनालाई न्यूनीकरण गर्दै सुरक्षासहितको यात्रालाई प्राथमिकता दिने उद्देश्यले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने गछिया ट्राफिक कार्यालयले जनाएको छ।
