उपाध्यक्षको अधिकार हनन नहोस् भन्दै उच्च अदालतको आदेश: ग्रामथान गाउँपालिकाको अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
उपाध्यक्षको अधिकार हनन नहोस् भन्दै उच्च अदालतको आदेश: ग्रामथान गाउँपालिकाको अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
विराटनगर, चैत २८ – मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।
उपाध्यक्ष गुणवतीदेवी थारूले अध्यक्ष माझीको निर्णयविरुद्ध रिट दायर गरेपछि उच्च अदालतका कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले सो निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। अदालतले उपाध्यक्षको पदमा रही रहँदा उनलाई प्रयोग गर्न पाइने अधिकारबाट वञ्चित गरिनु संवैधानिक सन्तुलनविपरीत हुने ठहर गरेको छ।
गत सोमबार अध्यक्ष माझीले उपाध्यक्ष थारू गाउँपालिकामै रहँदा पनि वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। अध्यक्ष माझी हाल चीन भ्रमणमा छन्। उपाध्यक्ष थारूले आफूलाई बेवास्ता गर्दै वडाध्यक्षलाई जिम्मेवारी दिएको भन्दै अदालत पुगेकी थिइन्।
अदालतको आदेशमा भनिएको छ, “रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा वहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिमा देखिन्छ। कानुनको उचित प्रयोग र सुविधा सन्तुलनका लागि अन्तरिम आदेश आवश्यक देखियो।”
अध्यक्ष माझी गत मंसिरमा भएको उपनिर्वाचनमार्फत माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनी र उपाध्यक्ष थारूबीच सम्बन्ध राम्रो नरहेको स्रोत बताउँछ। सोमबार चीन जानुअघि बिदाइ कार्यक्रममा समेत उपाध्यक्ष थारू नआएको भन्दै उनले वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको बताइएको छ।
यसअघि पनि धरान उपमहानगरपालिका र झापा कमल गाउँपालिकामा यस्तै विवाद हुँदा अदालतले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
