पञ्चायत माविमा कक्षा ११का विद्यार्थीलाई स्वागत: कक्षा १२ लाई विदाई कार्यक्रम
पथरी शनिश्चरे समाचारदाता, चैत्र-२८ गते
पञ्चायत माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८१ को कक्षा -११ मा आउने नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै कक्षा १२ का छात्र- छात्राहरूलाई विदाई गरिएको छ।
आज विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा सो कार्यक्रम सम्पन्न भएको हो।
पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाले ५ सय बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुभएकोमा गुरू वर्गप्रति आभार व्यक्त गर्नुभएको थियो। आचरण, नैतिकता, व्यवहारिक शिक्षा आदि विद्यालयले निरन्तर रुपमा प्रदान गरेको भन्दै समाजमा राम्रो छाप छोड्न र भविष्यमा उत्कृष्ट नतिजा हासिल गर्दै अगाडि बढ्न सुझाव गर्नुभएको थियो।
सोहि अवसरमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले आगामी दिनहरुमा उच्च शिक्षा हाँसिल गर्न र आउँदै गरेको कक्षा १२ को वार्षिक परीक्षामा सामेल भई ४ जिपीए ल्याउने एक छात्र र एक छात्रालाई स- सम्मान पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो।
उक्त कार्यक्रममा शिक्षक तर्फबाट बुद्धिनाथ अधिकारीले विदाई मन्तव्य राख्नुहुँदै २०७९ को एसईई नतिजा अनुसार नगरपालिकामा ३.९५ जिपिए ल्याउने छात्र निश्चल काफलेलाई प्रोत्साहनका लागि नगद ३ हजार सहित पुरस्कृत गर्नुभएको थियो भने २०८० सालमा नेपाली विषयमा ४ जीपीए ल्याउने छात्राहरू निकिता राई र करूणा राईलाई नेपाली विषय शिक्षक षडानन्द अधिकारी ( सरोज)सरले नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
उक्त अवसरमा विज्ञान संकायका शैक्षिक संयोजक चक्रधर गौतम , शिक्षकहरू क्रमश: गणेश बिष्ट , नरेश राई, मोहनप्रसाद गौतम, शम्भुराज थापा, लगायतको उपस्थिति थियो।
विज्ञान संकायका तर्फबाट कक्षा ११ की छात्रा रक्षा लिम्बु शुभकामना मन्तव्य राखेकी थिइन् भने कक्षा १२ का छात्रा झल्कुमारी दर्जी, अपेक्षा भण्डारी र मोनालिसा राई विदाई मन्तव्य राखेका थिए।
उक्त अवसरमा गीत, गीत संगीत नृत्य लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन विद्यालयका शिक्षक दिनेश सुवेदीले गर्नुभएको थियो।
