सप्तकोशीको बीच टापुबाट ४७५ किलो गाँजा बरामद
सुनसरी । सप्तकोशी नदीको बीच भागमा लुकाइ राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको टोलीले सुनसरी र उदयपुरको सीमावर्ती टापु क्षेत्रबाट ४७५ किलोग्राम गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल का अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ बीच सप्तकोशी नदीको टापुमा लुकाइ राखिएको १६ बोरा गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्ट ले विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन बेस चतराबाट इन्स्पेक्टर मेघराज राउत तथा सुरक्षा बेस रामपुरका इन्स्पेक्टर राजविक्रम खड्का को नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिए ।
नदीको बीच टापुमा गाँजा लुकाइएकाले प्रहरीले र्याफ्ट बोट प्रयोग गरेर गाँजा बाहिर निकालेको थियो । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
