काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा, तराईमा तातो हावा र हावाहुरीको सम्भावना
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । मौसमविद्ले आज पनि पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ भने तराईका अधिकांश भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहने जनाइएको छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा रातिको समयमा पनि वर्षा जारी रहने सम्भावना छ ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । कैलाली र कञ्चनपुरसहितका क्षेत्रमा गर्मी बढ्न सक्ने अनुमान गरिएको छ ।
मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले यात्रा, कृषि कार्य तथा खुला स्थानमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
