मनसुन सक्रिय : कोशी, बागमती र गण्डकीमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरी नेपालको तराई क्षेत्र नजिक रहेकाले वर्षाको प्रभाव अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्छ। त्यस्तै, यी तीनै प्रदेशका तराई भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा पनि वर्षासँगै हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेश प्रदेशका अधिकांश स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा समेत कोशी र बागमतीका हिमाली क्षेत्र तथा अन्य प्रदेशका उच्च भूभागमा वर्षा जारी रहने अनुमान गरिएको छ।

मौसमविद्ले लगातारको वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। यसले दैनिक जनजीवन, कृषि, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *