विद्यालय सुरक्षा अभियान अन्तर्गत मृगौलिया माविमा बेसिक लाइफ सेभिङ तालिम सम्पन्न
एलएन गच्छदार
सुन्दरहरैंचा, मोरङ — सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा विद्यालय सुरक्षा अभियान अन्तर्गत बेसिक लाइफ सेभिङ (जीवन रक्षा) सम्बन्धी प्रशिक्षण कार्यक्रम मृगौलिया माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मीमार्ग र पथरीशनिश्चरेको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न विपद् तथा आकस्मिक अवस्थाहरूमा अपनाउनुपर्ने सुरक्षा सावधानीका उपायहरूबारे सैद्धान्तिक तथा प्रयोगात्मक विधिमार्फत प्रशिक्षण प्रदान गरिएको थियो।
नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जेठ महिनादेखि सुरु गरेको उक्त अभियान सुन्दरहरैंचाका ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। कार्यक्रम असार १ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रशिक्षणको सहजीकरण सशस्त्र प्रहरी निरीक्षक रवि खकुरालले गर्नुभएको थियो। उहाँले दुर्घटना, आगलागी, डुबान, भूकम्प लगायतका विपद्का समयमा प्राथमिक उपचार, उद्धारका आधारभूत सीप तथा आत्मसुरक्षाका उपायहरूबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा नगर प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक भीमप्रसाद भट्टराई, वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख वासु अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर पन्त, प्रधानाध्यापक तोयानाथ रेग्मी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक तोयानाथ रेग्मीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जीवनोपयोगी तथा व्यवहारिक ज्ञान प्रदान गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विपद् व्यवस्थापन तथा आत्मसुरक्षासम्बन्धी ज्ञानले विद्यार्थीहरूलाई जिम्मेवार र सचेत नागरिक बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रहरी प्रमुख भीमप्रसाद भट्टराईले सुरक्षा सचेतना विद्यालय तहबाटै विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै विपद् वा आकस्मिक घटनाका बेला सही निर्णय लिन सक्ने क्षमता विकासका लागि यस्ता तालिम उपयोगी हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सिकेका सीप व्यवहारमा समेत प्रयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा विपद् व्यवस्थापन, प्राथमिक उपचार तथा आत्मसुरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
