सुकुना माविमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा, मोरङ — जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सुकुना माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले युवापुस्तामा बढ्दो लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताउँदै यसविरुद्ध विद्यालय तहदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई असल आचरण, अनुशासन र सकारात्मक सोचका साथ आफ्नो भविष्य निर्माण गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रहरी नायब निरीक्षक भक्तबहादुर तुम्रोक लिम्बुले सहजीकरण गर्दै लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले लागुऔषधको लतले व्यक्तिको जीवन, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसको रोकथामका लागि सचेतना नै सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो।
सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले नगरपालिकाले युवाहरूलाई लक्षित गरी विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै लागुऔषधमुक्त समाज निर्माणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यार्थीहरूलाई सही मार्गदर्शन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
कार्यक्रममा नगर कार्यपालिका सदस्य रुकमणि घिमिरे, बबिता खापुङ, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले लागुऔषध दुर्व्यसनका जोखिम, असर तथा त्यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको बताएका थिए।
