काँकडभिट्टा सीमामा बढ्दो अपराध, झापा प्रहरी फेरि अनभिज्ञ

झापा । पूर्वी नाका काँकडभिट्टा पछिल्लो समय अन्तरदेशीय अपराधीहरूका लागि सहज मार्ग बन्दै गएको संकेत देखिन थालेको छ। भारतका चर्चित अपराधी तथा तृणमूल कांग्रेस (टीएमसी) नेता जहाँगिर खानको नेपाल प्रवेश गर्ने योजनासहित सीमा क्षेत्रमा पक्राउ प्रकरणले फेरि एकपटक सीमा सुरक्षा र झापा प्रहरीको सूचना संयन्त्रमाथि प्रश्न उठाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विभिन्न गम्भीर आपराधिक मुद्दामा आरोपित खान नेपाल प्रवेश गर्ने तयारीमा थिए। उनलाई पानीटंकी क्षेत्र वा काँकडभिट्टाबाट पक्राउ गरिएको भन्नेमा फरक विवरण सार्वजनिक भए पनि उनी नेपाल–भारत सीमा क्षेत्रमा सक्रिय रहेको तथ्यले सीमा निगरानीको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।

तर घटनाको केन्द्र मानिएको झापामा भने जिल्ला प्रहरी कार्यालयले यस विषयमा स्पष्ट जानकारी दिन सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काले घटनाबारे आफूलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएकी छन्।

भारतीय अनुसन्धान निकायको प्रारम्भिक अनुसन्धानले जहाँगिर खान केही समय नेपालमै बस्ने तयारीमा रहेको संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यदि यो तथ्य पुष्टि भएमा नेपाल सीमापार अपराधीहरूको अस्थायी आश्रयस्थल बन्न सक्ने जोखिमप्रति सुरक्षा निकाय थप सतर्क हुनुपर्ने देखिन्छ।

भारतीय प्रहरीका अनुसार खानविरुद्ध हत्या प्रयास, आपराधिक षड्यन्त्र तथा जबरजस्ती असुलीलगायतका गम्भीर अभियोग दर्ता छन्। उनलाई पक्राउपछि डायमण्ड हार्बर अदालतमा उपस्थित गराइएको थियो, जहाँबाट पाँच दिनको प्रहरी हिरासतमा पठाउने आदेश भएको छ।

यो घटना पहिलो भने होइन। यसअघि पनि नक्कली अध्यागमन कागजात प्रयोग गरेर नेपाल प्रवेश गर्न खोज्ने दुई थाई नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पानीटंकी क्षेत्रमा पक्राउ गरेको घटनामा झापा प्रहरीले जानकारी नभएको जनाएको थियो। त्यस्तै, थाई महिलासँग जोडिएको सम्भावित अन्तरदेशीय यौन व्यापार प्रकरणमा पनि स्थानीय सुरक्षा संयन्त्रको अनुसन्धान र भूमिकाबारे प्रश्न उठेको थियो।

नेपाल–भारतको खुला सीमा ऐतिहासिक सम्बन्ध र सहज आवागमनको आधार भए पनि यही व्यवस्थालाई आपराधिक समूहले दुरुपयोग गर्ने खतरा बढ्दै गएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन्। विशेषगरी मानव बेचबिखन, नक्कली कागजात, फरार अभियुक्तको आवागमन तथा संगठित अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच प्रभावकारी सूचना आदान–प्रदान आवश्यक देखिन्छ।

जहाँगिर खान नेपाल प्रवेश गरिसकेका थिए वा थिएनन्, उनीसँग नेपालभित्र कुनै सम्पर्क सञ्जाल थियो वा थिएन र पक्राउ प्रक्रिया सीमा क्षेत्रमा कसरी सञ्चालन भयो भन्ने प्रश्नको उत्तर अझै स्पष्ट हुन सकेको छैन।

बारम्बार सीमासम्बन्धी संवेदनशील घटनामा ‘जानकारी छैन’ भन्ने प्रतिक्रिया आउनुले झापा प्रहरीको सूचना संकलन, अनुसन्धान र सीमा निगरानी क्षमतामाथि प्रश्न उठाएको छ। काँकडभिट्टा केवल व्यापार र आवागमनको नाका मात्रै होइन, राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले सीमापार अपराध नियन्त्रणमा प्रभावकारी समन्वय र सक्रिय सुरक्षा रणनीति अपरिहार्य देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *