फुटबलको महाकुम्भ सुरु हुँदै,४८ राष्ट्रको प्रतिस्पर्धा, मेसी–रोनाल्डोको अन्तिम विश्वकप यात्रा र नयाँ स्टारहरूको चम्किने अवसर
काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप बिहीबार मध्यरातिबाट सुरु हुँदै छ। चार वर्षको प्रतीक्षापछि सुरु हुन लागेको यो महाकुम्भले विश्वभरका करोडौं समर्थकलाई फेरि एकपटक फुटबलको रंगमा रंगाउने छ।
विश्वकप खेल्ने राष्ट्र मात्रै होइन, प्रतियोगितामा सहभागी नभएका देशका समर्थकहरू पनि आफ्ना मनपर्ने टोलीको समर्थनमा उत्साहित छन्। नेपालमा समेत विश्वकपको माहोल छाइसकेको छ। बजारमा विभिन्न देशका जर्सीको माग बढेको छ भने होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थलहरूले समर्थकलाई लक्षित गर्दै विशेष तयारी थालेका छन्।
यस पटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन्, जुन तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको पहिलो संस्करण हो। ३९ दिनसम्म चल्ने प्रतियोगितामा ४८ टोलीले कुल १०४ खेल खेल्नेछन्, जसले यसलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण बनाएको छ।
उद्घाटन खेल मेक्सिकोको प्रसिद्ध एस्टाडियो एज्टेका रंगशालामा हुनेछ भने फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेलाइने छ। प्रतियोगिताका अधिकांश खेल अमेरिकाका विभिन्न सहरमा हुनेछन्।
उपाधि दाबेदारीमा स्पेन र फ्रान्सलाई अग्रपंक्तिमा राखिएको छ। साविक विजेता अर्जेन्टिना, इङ्ग्ल्यान्ड, जर्मनी, ब्राजिल, पोर्चुगल र नेदरल्यान्ड्स पनि बलिया प्रतिस्पर्धीका रूपमा रहेका छन्।
यस विश्वकपको सबैभन्दा भावनात्मक पाटो भने आधुनिक फुटबलका दुई महान् खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्भावित अन्तिम विश्वकप यात्रा हुनेछ। छैटौं पटक विश्वकप खेल्न लागेका यी दुई स्टार फेरि एकपटक विश्व मञ्चमा आफ्नो छाप छोड्ने प्रयासमा रहनेछन्।
त्यस्तै, किलियन एमबाप्पे, लामिन यामाल, उस्मान डेम्बेले, एर्लिङ हालान्ड र मोहम्मद सलाहजस्ता नयाँ पुस्ताका स्टार खेलाडीमाथि पनि समर्थकको नजर रहनेछ। यद्यपि चोट तथा टोली छनोट नहुँदा केही चर्चित खेलाडी भने यस पटक दर्शकमै सीमित भएका छन्।
विश्वकप केवल खेलको प्रतिस्पर्धा मात्र नभई आर्थिक, सांस्कृतिक र कूटनीतिक रूपमा पनि विश्वको केन्द्र बन्नेछ। तर महँगा टिकट, कडा आप्रवासन नीति, सुरक्षा चुनौती र विश्व राजनीतिक तनाव यस संस्करणका चुनौतीपूर्ण पक्ष बनेका छन्।
यस संस्करणको कुल पुरस्कार राशि ६५५ मिलियन अमेरिकी डलर रहेको छ, जुन अघिल्लो संस्करणको तुलनामा उल्लेखनीय रूपमा बढी हो। विश्व विजेता टोलीले ५० मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।
अब विश्वका करोडौं समर्थकको नजर एक महिनाभन्दा बढी समय अमेरिका, मेक्सिको र क्यानडाका रंगशालामा केन्द्रित हुनेछ, जहाँ नयाँ इतिहास लेखिने प्रतीक्षा हुनेछ।




