बढ्दो सिटी सफारी दुर्घटना रोक्न सुनसरीमा नयाँ अभियान ,चालकको पहिचानदेखि यात्रुको सुरक्षासम्म क्युआर कोडयुक्त पोसाक वितरण

सुनसरी । पछिल्ला पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार सात सयभन्दा बढी दुर्घटना भएर सयभन्दा बढी नागरिकको ज्यान गएपछि कोशी प्रदेशमा यसको सुरक्षित सञ्चालनका लागि नयाँ अभियान सुरु गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार ‘सुरक्षित सिटी सफारी चालक अभियान’ शुभारम्भ गर्दै क्युआर कोडसहितको सुरक्षित चालक पोसाक वितरण गरेको हो। अभियानको सुरुआतमा इटहरीका ३०० जना सिटी सफारी चालकलाई पोसाक उपलब्ध गराइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले चालकको स्पष्ट पहिचान, यात्रुको विश्वास अभिवृद्धि तथा दुर्घटना एवं आपराधिक गतिविधिको जोखिम न्यूनीकरणका लागि अभियान सुरु गरिएको बताए।

प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार ७३२ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ भने तीन हजार ९७० जना घाइते भएका छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मात्रै ७०० दुर्घटनामा १९ जनाको ज्यान गएको र एक हजार १९५ जना घाइते भएका छन्।

इटहरी, धरान, विराटनगरलगायत पूर्वका सहरमा ई–रिक्सा (सिटी सफारी) को प्रयोग तीव्र रूपमा बढ्दै गए पनि दर्ता, रुट व्यवस्थापन र सञ्चालनसम्बन्धी स्पष्ट नीति अभावले यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। प्रहरीका अनुसार क्युआर कोडयुक्त पोसाक प्रयोगमा आएपछि चालकको विवरण सहज रूपमा पहिचान गर्न सकिने, यात्रुले चालकबारे जानकारी लिन सक्ने र सुरक्षित यात्राको अनुभूति प्राप्त गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक घिमिरेले सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएकाले ट्राफिक नियमको पालना गर्दै जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरे।

मोरङबाट समेत सुरु गरिएको यो अभियान क्रमशः कोशी प्रदेशका अन्य जिल्लामा विस्तार गरिने प्रहरीको तयारी छ। बढ्दो सिटी सफारी प्रयोगसँगै सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो अभियान महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *