बालेन नेतृत्वको सरकारपछि ठगीविरुद्ध उजुरीको बाढी, मोरङमा करोडौँ रुपैयाँ पीडितलाई फिर्ता

विराटनगर/ बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि ठगी तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीविरुद्ध उजुरी दिनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा पछिल्ला महिनाहरूमा सयौँ पीडित न्यायको खोजीमा पुग्न थालेका छन् भने प्रशासनले पनि उजुरीमाथि सक्रिय रूपमा छानबिन र फछ्र्यौट प्रक्रिया अघि बढाएको जनाएको छ।

कानेपोखरी–७ की विष्णु गिरी पनि त्यस्तै पीडितमध्ये एक हुन्। उनले दुई साताअघि सुनचाँदी व्यवसायीबाट ठगीमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएकी छन्। वर्षौँअघि डुबेको २९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता हुने आशामा उनले प्रशासनको ढोका ढकढकाएकी हुन्। निवेदन परेपछि प्रशासनले सम्बन्धित पक्षलाई झिकाउने, बयान लिने तथा विवाद समाधानको प्रक्रिया अघि बढाएको छ।

गिरी मात्र होइनन्, सुनचाँदी व्यवसायी होमनाथ अधिकारीबाट ठगीमा परेको दाबी गर्ने सयौँ व्यक्ति रहेको बताइन्छ। अधिकारी हाल अमेरिकामा रहेको र उनीमाथि विभिन्न आर्थिक अनियमितताका आरोप लागिरहेका छन्।

यसैबीच, वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा मोरङको सिजुवा निवासी उद्धव पाठक पक्राउ परेपछि थप पीडितहरू प्रशासन र प्रहरीको सम्पर्कमा आउन थालेका छन्। पाठकले उर्लाबारी–३ मा स्थापना गरेको केएसए इन्टरनेसनल म्यानपावरमार्फत रोमानिया पठाइदिने भन्दै झापा र मोरङका सयौँ युवाबाट रकम असुलेको आरोप छ।

झापाको कमल गाउँपालिका–१ का पवन कार्कीले रोमानिया पठाइदिने आश्वासनमा साढे सात लाख रुपैयाँभन्दा बढी रकम बुझाएका थिए। भिसा र टिकट तयार भएको भन्दै उनलाई भारतको नयाँ दिल्लीसम्म पठाइयो, तर त्यहाँ पुगेपछि टिकट नक्कली भएको थाहा पाएपछि उनी नेपाल फर्किन बाध्य भए। त्यसपछि विदेश पठाउने प्रक्रिया अघि नबढेको उनले बताएका छन्। यस्तै मोरङका जीवन लिम्बू र झापाका उमेश खत्रीलगायत अन्य धेरै व्यक्ति पनि सोही घटनाका पीडित बनेका छन्।

मोरङ प्रहरीका अनुसार रतुवामाई नगरपालिका–८ निवासी ३७ वर्षीय पाठकले रोमानिया पठाउने नाममा सयौँ व्यक्तिबाट करोडौँ रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोरङ प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार हालसम्म १५५ वटा व्यक्तिगत र ११३ जनाको सामूहिक उजुरी दर्ता भइसकेका छन्। उजुरीका आधारमा हालसम्म दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको विवरण प्राप्त भएको छ। सुरुमा १६ लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको थियो, तर अनुसन्धान अगाडि बढ्दै जाँदा पीडितको संख्या र ठगी रकम दुवै बढिरहेका छन्,’ मिश्रले बताए।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार २०८३ साल वैशाख १ गतेयता मात्रै वैदेशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै ६५ वटा नयाँ निवेदन परेका छन्। सोही अवधिमा प्रशासनले ८८ लाख ६२ हजार रुपैयाँ पीडितलाई फिर्ता गराउन सफल भएको छ भने ३० वटा मुद्दा फछ्र्यौट गरिएको छ। ठगीमा संलग्न रहेको आरोप लागेका व्यक्ति तथा संस्थासँग सम्बन्धित ९ वटा बैंक खाताको कारोबारसमेत रोक्का गरिएको प्रशासनले जनाएको छ।

मोरङमा मिटरब्याजसम्बन्धी उजुरीको अवस्था पनि चिन्ताजनक देखिएको छ। चालु आर्थिक वर्षको चैत २७ गतेसम्म प्रशासन कार्यालयमा १६९ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ५० वटा मुद्दा टुंग्याउँदा ८ करोड ३८ लाख ५४ हजार ८२७ रुपैयाँ नगद तथा ९ बिघा १२ कठ्ठा ९ धुर जग्गा पीडितलाई फिर्ता गराइएको प्रशासनको तथ्यांकले देखाएको छ।

प्रशासनका अधिकारीहरूका अनुसार ठगी, मिटरब्याज र वैदेशिक रोजगारीका नाममा हुने आर्थिक अपराधविरुद्ध पीडितहरू खुल्न थालेपछि उजुरीको संख्या बढेको हो। पछिल्लो समय प्रशासन र सुरक्षा निकायले सक्रियता बढाउँदा पीडितले न्याय पाउने आशा समेत बढ्दै गएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *