मती हत्या प्रकरणमा निष्पक्ष छानबिन र कडा कारबाहीको माग, पूर्वगृहमन्त्री गुरुङ प्रहरी कार्यालय पुगे
काठमाडौं / काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ ले माग गरेका छन्।
शनिबार गुरुङ घटनासम्बन्धी जानकारी लिन प्रहरी कार्यालय पुगेका थिए। उनले अनुसन्धानमा कुनै प्रभाव नपारी सत्यतथ्य बाहिर ल्याउन र दोषी प्रमाणित भए कानुनी दायराभित्र रहेर कडा कारबाही गर्न प्रहरीसँग आग्रह गरेका हुन्।
प्रहरीका अनुसार तारकेश्वरस्थित घरमा भएको घरायसी विवादका क्रममा ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाको थप अनुसन्धान बालाजु प्रहरी वृत्तबाट खटिएको टोलीले गरिरहेको छ। प्रहरी कार्यालय पुगेका गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग समेत भेटवार्ता गरी घटनाबारे जानकारी लिएका थिए। गोरखा निवासी भुजेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले पीडित परिवारलाई न्याय दिलाउन राज्यका निकाय संवेदनशील हुनुपर्ने बताए।
मृतक ईश्वरी भुजेल नेपाली सेनामा कार्यरत रहेको बताइएको छ। उनी कर्तव्यनिष्ठ र अनुशासित सैनिकका रूपमा परिचित रहेको स्थानीय स्रोतले जनाएको छ। उनको निधनपछि परिवार, आफन्त तथा समुदायमा शोक छाएको छ। पक्राउ परेका कुमार थापा सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट चिनिने व्यक्ति हुन्। उनले आफूलाई प्रो रेस्लरका रूपमा परिचित गराउने गरेका थिए। घटनाले सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा व्यापक चासो र चर्चा पैदा गरेको छ।
प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान भइरहेको जनाउँदै प्रमाण र तथ्यका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। यसबीच पीडित परिवार तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्।
