उद्योग परिसंघको उत्कृष्ट प्रदेश बन्यो कोसी, तीन ठूला उद्योग पनि सम्मानित
विराटनगर/ नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औँ केन्द्रीय अधिवेशनमा कोसी प्रदेश समिति सातै प्रदेशमध्ये उत्कृष्ट प्रदेश घोषित हुँदै सम्मानित भएको छ। संस्थागत सक्रियता, औद्योगिक प्रवर्द्धन तथा सदस्यहरूको सहभागिताका आधारमा कोसी प्रदेशले ‘बेस्ट प्रोभिन्स’ को सम्मान प्राप्त गरेको हो।
काठमाडौंमा आयोजित अधिवेशनका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाल उद्योग परिसंघ कोसी प्रदेशका अध्यक्ष पवन कुमार सारडा लाई उत्कृष्ट प्रदेशको ट्रफी हस्तान्तरण गर्दै सम्मान गरेका थिए। नेपाल उद्योग परिसंघ का केन्द्रीय अध्यक्ष वीरेन्द्र राज पाण्डे को सभापतित्वमा सम्पन्न अधिवेशनमा संस्थापक अध्यक्ष विनोद चौधरी लगायत उद्योग, व्यापार तथा आर्थिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
अधिवेशनमा कोसी प्रदेशको संस्थागत उपलब्धिलाई मात्र होइन, प्रदेशको औद्योगिक योगदानलाई समेत विशेष रूपमा सम्मान गरिएको छ। मुलुकको औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका कोसी प्रदेशका तीन ठूला उद्योगलाई विशेष सम्मान प्रदान गरिएको हो।
सम्मानित हुने उद्योगहरूमा बाबा भेजिटेबल आयल इण्डष्ट्रिज प्रा.लि., रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इण्डष्ट्रिज रहेका छन्। ती उद्योगहरूको तर्फबाट क्रमशः प्रकाश मुण्डडा, शशीकान्त अग्रवाल र विशाल थापाले सम्मान ग्रहण गरेका थिए।
अधिवेशनमा कोसी प्रदेशको प्रतिनिधित्व अध्यक्ष पवन कुमार सारडाको नेतृत्वमा गरिएको थियो। टोलीमा वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडा, संस्थापक अध्यक्ष भीम घिमिरे, प्रमुख सल्लाहकार महेश जाजु, संस्थापक सदस्य नवीन रिजाल तथा महानिर्देशक विजय हरि शर्मा सहभागी थिए।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै महानिर्देशक विजय हरि शर्मा ले कोसी प्रदेशले प्राप्त गरेको यो सम्मान सामूहिक प्रयासको परिणाम भएको बताए। उनले संस्थाको नेतृत्व, सदस्य उद्योग, सञ्चारकर्मी तथा सचिवालयका कर्मचारीहरूको निरन्तर सहयोग र प्रतिबद्धताकै कारण कोसी प्रदेश उत्कृष्ट प्रदेशका रूपमा स्थापित हुन सफल भएको उल्लेख गरे।
उद्योगी व्यवसायीहरूले कोसी प्रदेशलाई औद्योगिक केन्द्रका रूपमा थप सशक्त बनाउन निजी क्षेत्र, सरकार तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्। ‘बेस्ट प्रोभिन्स’ को सम्मानले कोसी प्रदेशका उद्योगीहरूलाई थप उत्साहित बनाउनुका साथै प्रदेशको औद्योगिक विकास र लगानी प्रवर्द्धनमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
