सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरीलाई, केराबारी उपविजेता
सुन्दरहरैँचा, मोरङ । चौथो संस्करणको सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै इटहरीले प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएको हो।
सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनलमा दुवै टोलीले आक्रामक र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका थिए। खेलको सुरुआतदेखि नै दबाब सिर्जना गरेको इटहरीले महत्वपूर्ण अवसरहरूको सदुपयोग गर्दै उपाधि उचाल्न सफल भएको हो। पराजित भए पनि केराबारीले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेतामा सीमित रह्यो।
उपाधिसँगै इटहरी उपमहानगरपालिकाले नगद रु ४ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता केराबारी गाउँपालिकाले रु २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईं ले खेलकुदले स्थानीय तहबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै युवा पुस्तालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नगरपालिकाले खेलकुद क्षेत्रको विकास र प्रतिभावान खेलाडीको प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
पूर्वी नेपालका विभिन्न स्थानीय तहका टोलीहरूको सहभागिता रहेको प्रतियोगिताले क्षेत्रीय खेलकुद गतिविधिलाई थप चलायमान बनाएको आयोजकको विश्वास छ। स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेल संस्कृतिको विकासमा प्रतियोगिता प्रभावकारी बनेको सहभागीहरूको भनाइ छ।
सुन्दरहरैँचामा हरेक वर्ष आयोजना हुँदै आएको मेयर गोल्डकप पछिल्लो समय पूर्वी नेपालको प्रतिष्ठित स्थानीयस्तरको फुटबल प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ। यस वर्षको संस्करणले पनि दर्शकको उल्लेखनीय उपस्थिति र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका कारण विशेष आकर्षण हासिल गरेको थियो।
– एल.एन. गच्छदार
