६ वर्षदेखि अधुरो कञ्चनपुर–कमला सडक, धुलो, हिलो र जामले स्थानीयको जनजीवन कष्टकर

सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर–कमला सडकखण्ड विस्तार तथा स्तरोन्नति आयोजना वर्षौँसम्म अधुरै रहँदा सिरहाका लहान, गोलबजार र मिर्चैयालगायत क्षेत्रका सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको छ। निर्माणमा भएको निरन्तर ढिलाइका कारण स्थानीयले धुलो, हिलो र लामो ट्राफिक जामको समस्या झेलिरहेका छन्।

एसियाली विकास बैंक को ऋण सहयोगमा सञ्चालित ८६.८३ किलोमिटर सडक विस्तार आयोजना ६ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। नेपाल सरकार र China Railway No. 2 Engineering Group बीच २०७७ असार ११ गते भएको सम्झौताअनुसार आयोजना २०८० कात्तिकभित्र सम्पन्न हुनुपर्ने थियो। तर निर्माण कम्पनीको सुस्त कार्यशैली, कोरोना महामारी, रुख कटानमा ढिलाइ तथा विद्युत्का पोल र ट्रान्सफर्मर नसारिँदा काम पटक–पटक प्रभावित भएको हो।

आयोजनाको म्याद तीन पटक थपिइसकेको छ भने पछिल्लो थपिएको अवधि आगामी असार १६ गते सकिँदै छ। यद्यपि हालसम्म समग्र भौतिक प्रगति करिब ६८ प्रतिशत मात्र पुगेकाले चौथोपटक पनि म्याद थपिने सम्भावना देखिएको छ।

पूर्वी खण्ड सडक योजना कार्यालयका प्रमुख निरज शाक्यका अनुसार ३९.४२ किलोमिटरमध्ये २४.५८ किलोमिटर सडकमा मात्रै कालोपत्रे सम्पन्न भएको छ। पश्चिमी खण्डका सूचना अधिकारी अनुपमकुमार साहले ४७.४१ किलोमिटरमध्ये ३५.६१ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए।

मुख्य बजार क्षेत्रमा विद्युत्का पोल र ट्रान्सफर्मर नसारिँदा काममा थप अवरोध भएको आयोजना पक्षको भनाइ छ। मन्त्रालयले सम्झौता रद्द गर्ने चेतावनी दिएपछि मात्रै गत वैशाख १५ गतेदेखि लहान क्षेत्रमा पुनः निर्माण कार्य तीव्र बनाइएको पश्चिमी खण्ड सडक योजना कार्यालयका प्रमुख उज्ज्वल श्रेष्ठले बताए।

निर्माण ढिलाइले आयोजनाको लागत पनि उल्लेख्य रूपमा बढेको छ। सुरुवाती लागतभन्दा झण्डै तीन अर्ब रुपैयाँ थपिँदा कुल लागत १५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। एडीबी नेपाल निर्देशनालयका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठका अनुसार प्राविधिक निगरानी, परामर्शदाता सेवा विस्तार तथा साइट व्यवस्थापनका कारण करिब १८.९८ प्रतिशत लागत वृद्धि भएको हो।

अर्थशास्त्रीहरूले समयमै आयोजना सम्पन्न नहुँदा राज्यले उपयोग नभएको ऋण रकममै ब्याज र अतिरिक्त शुल्क तिर्नुपरेको बताएका छन्। अर्थशास्त्रका प्राध्यापक धरणिधर अधिकारीका अनुसार बजेट खर्च हुन नसक्नुले राज्यको वित्तीय अनुशासन कमजोर बनाएको छ। पूर्वसचिव तथा इन्जिनियर अर्जुनजंग थापाले पूर्वतयारीबिनै ठेक्का लगाउने प्रवृत्ति, कमजोर अनुगमन र जटिल खरिद प्रणालीलाई ढिलाइको मुख्य कारण मानेका छन्।

सडकको दुर्दशाले स्थानीय व्यापारसमेत प्रभावित भएको व्यवसायीहरू बताउँछन्। जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताले धुलो र जामका कारण ग्राहक घट्नुका साथै ढुवानी लागत दोब्बर भएको बताए।

लहानका चिया व्यवसायी सत्यनारायण साहले सडकका कारण व्यापारसँगै दैनिक जीवन नै प्रभावित भएको गुनासो गरे। राजमार्ग छेउमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका दिनेश देवले धुलोले सामान बिग्रिने समस्या बढेको बताए।

स्थानीयका अनुसार धुलो र प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा दम, खोकी र एलर्जीजस्ता स्वास्थ्य समस्या पनि बढिरहेका छन्। पटक–पटक आन्दोलन र विरोध भए पनि रणनीतिक महत्वको यो सडक आयोजना अझै पूर्ण हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *