सहलेश फुटबल क्लब सिराहालाई सुन्दरहरैँचा खोर्साने गोल्डकपको उपाधि
मोरङ — मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा आयोजित “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” को उपाधि सहलेश फुटबल क्लब, सिराहाले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा सहलेश फुटबल क्लबले धरान आरसी फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सहलेशले निर्धारित समयमा दुई गोल गर्न सफल भयो भने धरान आरसीले एक गोल फर्काएको थियो ।
उपाधिसँगै सहलेश फुटबल क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता धरान आरसी फुटबल क्लबले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको आयोजकले जनाएको छ । विजेता तथा उपविजेता टोलीलाई सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं ले पुरस्कार वितरण गरेका थिए ।
फाइनल खेलका क्रममा वर्षासँगै मैदान केही प्रभावित बनेको थियो । खेलकै बीच सामान्य विवाद उत्पन्न भएपछि केही समय खेल रोकिएको आयोजकले जनाएको छ । त्यसपछि स्थिति सामान्य बनेपछि खेल पुनः सञ्चालन गरिएको थियो ।
आयोजकका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा पछिल्ला केही वर्षयताकै सबैभन्दा धेरै दर्शकको उपस्थिति रहेको दाबी गरिएको छ । स्थानीय खेलप्रेमीको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको आयोजकको भनाइ छ ।





