राष्ट्रिय पहिचान बनाउँदै ब्राइट फ्युचर : प्रविधिमैत्री शिक्षा, खेलकुद र सिर्जनशीलतामा अब्बल विद्यार्थी उत्पादन गर्दै
एलएन गच्छदार /सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा अवस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुल पछिल्लो समय गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिमैत्री शिक्षण प्रणाली, खेलकुद र अतिरिक्त क्रियाकलापमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।
विद्यालयमा कक्षा–११ का लागि आयोजित प्रवेश परीक्षा आज उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यसहित विज्ञान, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स तथा व्यवस्थापन संकाय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको विद्यालयले जनाएको छ। अनुशासित, शान्त र विद्यार्थीमैत्री वातावरणमा सम्पन्न परीक्षामा विद्यार्थीहरू आत्मविश्वासका साथ सहभागी भएका थिए।
विद्यालय प्रशासनले सम्पूर्ण सहभागी विद्यार्थीलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै “आजको मेहनतले भोलिको अवसर निर्माण गर्छ” भन्ने प्रेरणादायी सन्देशसमेत दिएको छ।
आधुनिक शिक्षासँग व्यवहारिक सीपको संगम
ब्राइट फ्युचरले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा नभई व्यवहारिक, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको छ। अत्याधुनिक साइन्स ल्याब, होटल म्यानेजमेन्ट ल्याब, रोबोटिक्स, एआइ (AI) र कोडिङमार्फत विद्यार्थीलाई सूचना प्रविधिसँग प्रत्यक्ष जोडेर शिक्षण गरिँदै आएको विद्यालयको दाबी छ।
विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकालका अनुसार अहिलेको प्रतिस्पर्धात्मक युगमा विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन। “हामी विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति बनाउने लक्ष्यसहित अघि बढिरहेका छौँ,” उनले भने, “प्रविधि, व्यवहारिक सीप, नेतृत्व क्षमता र आत्मविश्वास विकासलाई विद्यालयले प्राथमिकतामा राखेको छ।”
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चम्किएका विद्यार्थी
विद्यालयका विद्यार्थीहरूले अध्ययनसँगै खेलकुद क्षेत्रमा समेत उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। विशेषगरी महिला भलिबलतर्फ विद्यालयले थुप्रै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल भएको छ।
तीमध्ये छात्रा खेलाडी कृष्मा डाँगी अहिले विद्यालयको मात्र नभई देशकै गौरवको रूपमा स्थापित बन्दै गएकी छन्। उनले नेपाललाई प्रतिनिधित्व गर्दै बंगलादेशसम्म पुगेर आफ्नो प्रतिभा प्रदर्शन गरेकी छन्। विद्यालय परिवारका अनुसार कृष्माको उपलब्धिले अन्य विद्यार्थीलाई समेत प्रेरणा दिएको छ।
खेलकुदसँगै विद्यालयका विद्यार्थीहरूले गीत–संगीत क्षेत्रमा पनि आफ्नो अलग पहिचान बनाइरहेका छन्। विभिन्न सांस्कृतिक कार्यक्रम, गायन तथा प्रतिभा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यार्थीहरूले विद्यालयको नाम उजागर गरिरहेका छन्।
“ब्राइट फ्युचरले बालबालिकाको भविष्य बदलिरहेको छ” : अभिभावक हरी पौडेल
विद्यालयप्रति अभिभावकहरूको विश्वाससमेत दिनप्रतिदिन बढ्दै गएको छ। अभिभावक हरी पौडेल विद्यालयले शिक्षासँगै अनुशासन, प्रविधि र व्यवहारिक ज्ञानलाई जोड दिएकै कारण अभिभावकको रोजाइमा पर्न सफल भएको बताउँछन्।
उनले भने, “आजको समयमा केवल किताबको ज्ञानले मात्र भविष्य बन्दैन। ब्राइट फ्युचरले बच्चाहरूलाई प्रविधिसँग जोडेर आत्मविश्वासी बनाइरहेको छ। यहाँ पढाइसँगै खेलकुद, व्यवहारिक सीप र नेतृत्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ। यही कारणले अभिभावकको विश्वास बढ्दै गएको हो।”
सुविधासम्पन्न भौतिक संरचना, शान्त वातावरण, अनुभवी शिक्षक टोली तथा आधुनिक शिक्षण प्रणालीका कारण ब्राइट फ्युचर सेकेण्डरी स्कुल अहिले पूर्वी क्षेत्रकै आकर्षक शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
