नोबेल शिक्षण अस्पतालमा कोक्लियर इम्प्लान्टसम्बन्धी कार्यक्रम सम्पन्न, बालबालिकामा सकारात्मक परिवर्तनबारे अनुभव साझा

विराटनगर, बैशाख ९ — नोबेल शिक्षण अस्पतालको नाक, कान, घाँटी (ENT) विभागद्वारा कोक्लियर इम्प्लान्टसम्बन्धी एक सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा कोक्लियर इम्प्लान्ट गराएका बालबालिका र उनीहरूका अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा विभागका चिकित्सक, आवासीय चिकित्सक तथा मेडिकल अफिसरहरूको उपस्थिति रहेको थियो भने काठमाडौंका वरिष्ठ स्पीच ल्याङ्ग्वेज प्याथोलोजिस्ट सविन शर्मा तथा अष्ट्रियाका अडियोलोजिस्ट एवं स्पीच थेरापिस्ट डागमर हेर्मानोभाले विशेष प्रस्तुति दिएका थिए। उनीहरूले सुन्न र बोल्न नसक्ने समस्यासम्बन्धी आधुनिक उपचार पद्धति, प्रविधि र आफ्नो अनुभवहरू साझा गरेका थिए।

चिकित्सकहरूले कोक्लियर इम्प्लान्टपछि निरन्तर स्पीच थेरापी तथा हियरिङ थेरापीको आवश्यकताबारे जानकारी दिँदै, यसले बालबालिकाको सुनाइ र बोलाइ क्षमतामा उल्लेखनीय सुधार ल्याउने बताएका थिए।

श्रवण अशक्तता भएका बिरामी, विशेषगरी बालबालिकाका लागि कोक्लियर इम्प्लान्ट बरदानसरह सावित भइरहेको उल्लेख गर्दै अस्पतालले जनाएको छ कि वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा हालसम्म पाँच जना बालबालिकाको सफलतापूर्वक उपचार गरिसकिएको छ।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकामा आएको सकारात्मक परिवर्तन, बढ्दो आत्मविश्वास र सामाजिक घुलमिलमा आएको सहजताबारे अनुभव सुनाएका थिए। यस्ता अनुभवहरूले कार्यक्रमलाई भावनात्मक र प्रेरणादायी बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *