केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार, क्याथ ल्याब सेवाको सुरुवातसँगै ऐतिहासिक उपलब्धि

भक्तपुर — काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुसम्बन्धी पहिलो सफल उपचार सम्पन्न भएको छ। नेपाली कांग्रेसका युवानेता डा. सुनील शर्माद्वारा सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा अत्याधुनिक क्याथ ल्याबमार्फत यो उपलब्धि हासिल गरिएको हो।

भक्तपुर नगरपालिका–इनाचोका ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको उपचार सेवा लिने पहिलो बिरामी बनेका छन्। पेट तथा मुटु दुख्ने समस्याले पीडित उनलाई उनका छोरा अजय माकजूले उपचारका लागि अस्पताल ल्याएका थिए।

अस्पतालका मुटुरोग विशेषज्ञ डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै करिब ३० मिनेटमा अत्याधुनिक क्याथ ल्याबमार्फत पहिलो पटक सफलतापूर्वक डाइग्नोस्टिक एन्जियोग्राम सम्पन्न गरेको हो। परीक्षणका क्रममा माकजूको मुटुका दुईवटा नशा अवरुद्ध भएको पत्ता लागेको चिकित्सकहरूले बताएका छन्।

पहिलो प्रयासमै यस्तो महत्वपूर्ण सफलता हासिल गर्न सकिएकोमा चिकित्सक टोलीले खुशी व्यक्त गरेको छ। हाल बिरामीको अवस्था स्थिर रहेको र चिकित्सकहरूको सल्लाहअनुसार चाँडै नै अवरुद्ध नशा खोल्ने तथा स्टेन्ट (जाली) राख्ने प्रक्रिया अगाडि बढाइने परिवारले जनाएको छ।

चिकित्सकहरूका अनुसार एन्जियोग्राम मुटुको नशाको अवस्थाबारे जानकारी दिने सूक्ष्म परीक्षण हो। यसले नशा अवरुद्ध भए/नभएको र हृदयघातको जोखिमको स्पष्ट जानकारी दिन्छ।

केएमसी दुवाकोटमा सञ्चालनमा आएको क्याथ ल्याबमार्फत अब हृदयघातको उपचार, मुटुको शल्यक्रिया, नशा खोल्ने, स्टेन्ट राख्ने तथा भल्भसम्बन्धी उपचारहरू समेत उपलब्ध हुने भएका छन्। यो सफल उपचारले अब भक्तपुरवासीका लागि मात्र नभएर आसपासका सम्पूर्ण मुटुसम्बन्धी जटिल समस्या भएका बिरामीको उपचार आफ्नै घरदैलोमा सहज बनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *