सप्तरीमा कोशी पम्प नहरको बाँध भत्कियो, खेतीयोग्य जमिन डुबानमा
सप्तरी। सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध फुटेपछि नहरको पानी खेतमा पस्दा धानबालीसहित ठूलो परिमाणमा कृषि उत्पादनमा क्षति पुगेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार करिब दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ। अचानक आएको पानीले खेतमा रोपिएको धानबालीमा क्षति पुगेको र किसानहरू आर्थिक रूपमा मारमा परेको उनीहरूको भनाइ छ।
स्थानीयवासी नेना सचिदानन्द यादवले बाँध भत्किँदा किसानहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको बताउँदै प्रभावित परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
उनले थप क्षति हुन नदिन सम्बन्धित निकायले भत्किएको बाँध तत्काल मर्मत गरी नहरलाई सुरक्षित बनाउनु आवश्यक रहेको बताए। स्थानीयले समयमै मर्मत कार्य अघि नबढे थप खेतीयोग्य जमिन डुबानमा पर्न सक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
