कोशी अस्पतालको सरकारी जग्गामा डोजर, २६ सटर भत्काइयो
विराटनगर। कोशी अस्पताल विराटनगरले आफ्नै स्वामित्वको सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका व्यापारिक संरचनामाथि सोमबार डोजर चलाएको छ। विभिन्न संस्थाले अस्पतालको जग्गामा बनाएका र तेस्रो पक्षलाई भाडामा दिइएका २६ वटा सटर प्रयोग गर्न नमिल्ने गरी भत्काइएको अस्पताल प्रशासनले जनाएको छ।
विराटनगर–७ स्थित अस्पताल चोक क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले अस्पतालको जग्गामा स्थायी संरचना निर्माण गरेका थिए। ती संरचनामध्ये केही सटर व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको पाइएको अस्पताल प्रशासनको भनाइ छ।
डोजर अभियानका क्रममा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालगायतको टोली परिचालित भएको थियो। सम्भावित विवादलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत निरीक्षण गर्दै सरकारी जग्गामा बनेका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए। त्यसलगत्तै अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गरेको थियो। यसअघि असार ५ गते पनि १५ दिनभित्र संरचना खाली गर्न सूचना प्रकाशित गरिएको थियो।
अस्पताल प्रशासनका अनुसार तोकिएको अन्तिम समयसीमाभित्र अधिकांश व्यवसायीले आफ्ना सामान हटाइसकेका थिए। त्यसपछि सरकारी जग्गा खाली गराउने अभियानअन्तर्गत बाँकी संरचनामाथि डोजर चलाइएको हो।
अस्पतालले सरकारी सम्पत्तिको संरक्षण, अस्पतालको विस्तार तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
