काभ्रे बस दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत, १६ घाइतेको उपचार जारी

काठमाडौँ /  काभ्रेको नमोबुद्ध नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका सबै आठ जनाको सनाखत भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान गर्न नेपाल प्रहरीले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शनिबार दिउँसो नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा रोशी गाउँपालिका–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी, रोशी–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, रोशीका ५५ वर्षीय राजु तामाङ, रोशी–७ की ६० वर्षीया माया तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ की २२ वर्षीया सुमि तामाङ रहेका छन्। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरी प्रदेश कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले दुर्घटनाको प्राविधिक तथा अन्य पक्षबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *