मेची खोलाको बाटो हुँदै अवैध रूपमा नेपाल छिर्न खोज्ने बङ्गलादेशी नागरिक पक्राउ
झापा / भारतको पानीट्याङ्की क्षेत्रबाट मेची खोलाको बाटो प्रयोग गरी अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेका एक बङ्गलादेशी नागरिकलाई झापाको काँकडभिट्टा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार दिउँसो १२ः४५ बजे मेचीनगर नगरपालिका–६ स्थित गैरीगाउँ क्षेत्रमा भारतबाट नेपालतर्फ अनधिकृत रूपमा प्रवेश गरिरहेका ३३ वर्षीय एमडी सैफुल इस्लामलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बङ्गलादेशको चाँदपुर जिल्लास्थित तुलातोली काछुआ मोनोहरपुर निवासी इस्लाम राहदानीसहित फेला परेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो।
प्रारम्भिक सोधपुछपछि थप कानुनी प्रक्रिया अघि बढाउन इस्लामलाई अध्यागमन विभाग, काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
