सरकारी नम्बर प्लेट भएको दुईवटा स्कारपिओ गाडीबाट करिब सात सय केजी गाँजा बरामद
मंगलबार साँझ ७ बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद भएको हो ।
सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाकाअनुसार धरान १३ अमरहाटबाट गाँजा बरामद गरिएको हो । उनका अनुसार चार राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । अर्को गाडीका सवारी चालक तत्काल फरार भएका छन् ।
‘अर्को गाडीलाई रोक्ने क्रममा हामीलाई नै पेल्ने अवस्थामा आएपछि गोली चलाउन बाध्य भएका हौँ,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुले भने, ‘गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ, हामीले खोजी गरिरहेका छौँ ।’
बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । उक्त गाडी नियन्त्रणमा लिनका लागि प्रहरीले निकै चुनौती व्यहोर्नुपरेको उनले बताए ।
प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो ।
‘जसमध्ये एक राउण्ड गोली उक्त गाडीको पछाडि रहेको सिसा भन्दा माथिलो भागमा लागेको र अर्को गाडीलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो,’ सुनसरी प्रहरी प्रमुख तिम्सिनाले भने ।
उक्त गाडीका चालकलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले सबैतिरका नाकामा निगरानी बढाएको छ । प्रहरीका अनुसार बा १ झ ५१२७ नम्बरको गाडीमा प्लाष्टिकमा भएको ३६५ केजी गाँजा र प्लाष्टिकबाहेक जम्मा ३६० केजी गाँजा बरामद गरिएको छ ।
यसैगरी बा १ झ ४६०५ नम्बरको गाडीमा भएको गाँजा प्लाष्टिकसहित ३३५ केजी र प्लाष्टिकबाहेक जम्मा ३३० केजी गरी प्लाष्टिकसहित जम्मा तौल ७ सय केजी गाँजा बरामद गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।
संभार- प्रदेश खबर