सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैचा नगरपालिका –५ स्थित सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरीले कार्यक्रमको उद्घाटन गर्दै खानेपानी प्रणालीलाई थप सुरक्षित, दिगो र प्रभावकारी बनाउन संस्थाले एकीकृत रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र राईले वार्षिक प्रगति विवरण तथा भावी कार्ययोजना प्रस्तुत गर्दै बढ्दो जनसङ्ख्या र सेवा विस्तारलाई ध्यानमा राख्दै नयाँ ट्याङ्की निर्माणका लागि जग्गा खोजी तथा खरिद प्रक्रिया अघि बढाउने, मुख्य सडकका दुवै किनारामा पाइपलाइन विस्तार गर्ने, ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्ने, प्रत्येक वर्ष ५०० धारा थप जडान गर्ने लगायतका योजना सार्वजनिक गरेका छन्। साथै संघीय, प्रदेश र स्थानीय सरकारसँग आवश्यक बजेटका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
सो अवसरमा कोषाध्यक्ष चिरन्जीवी रेग्मीले आम्दानी–खर्च विवरण प्रस्तुत गरे भने लेखा समिति संयोजक परशुराम घिमिरेले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रम सञ्चालन सचिव शंकर देवानले गरेका थिए।
हाल संस्थामा १२९९ वटा धारा जडान भइसकेको र यो संख्या अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको अध्यक्ष राईले बताए। साथै ५० प्रतिशत ग्राहकले अनलाइन तथा मोबाइल बैंकिङबाट महसुल भुक्तानी गर्न थालेका कारण सेवा झनै सहज भएको लेखा प्रतिवेदनमा उल्लेख गरिएको थियो।
साधारण सभामा सार्वजनिक संस्थामध्ये सबैभन्दा बढी महसुल बुझाउने सजिलाल माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ, जसको तर्फबाट प्राचार्य श्यामबाबु काफ्लेले सम्मान ग्रहण गरे। व्यक्तिगततर्फ टिकाराम राई सम्मानित भए।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष स्व. कृष्ण प्रसाद दाहाललाई संस्थाको स्थापना (२०६८/०२/२४) देखि २०७७/०६/२५ सम्मको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै मरणोपरान्त सम्मानपत्र प्रदान गरिएको थियो।
सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सामाजिक संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो।
