धरानबाट १४२० केजी गाँजा बरामद, सुन्दरहरैचाका दाहालसहित अन्य एक पक्राउ
योगेन्द्र योगी
बिराटनगर : सुनसरीको धरानबाट प्रहरीले १४२० केजी गाँजा बरामद गरेको छ। धरान उप महानगरपालिका १३ साराङ्गास्थित कोशी लोकमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट डीएसपी मान बहादुर राईको कमाण्डमा खटीएको टोलीले १४२० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई शंका लागि चेकजाँच गर्दा उक्त ट्रकमा लोड गरी ल्याउदै गरेको मुलाको बोरा संगै ४४ वटा सेतो बोरामा प्याक गरी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १४२० (एक हजार चार सय बीस) केजी लागुऔसध गाँजा फेला पारी बरामद गरेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

एसपी रेग्मीका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिका ७ गछिया बस्ने वर्ष ३४ को राज कुमार दाहाल र धनकुटा सहिदभुमी गाउपालिका ७ बस्ने वर्ष ४१ को भुपेन्द्र राई समेतलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको बताए । उनीहरुविरुद्ध प्रहरीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी थालेको बुझिएको छ।
कोशी प्रदेशमा प्रहरीले प्रत्येक दिन ८-१० जना लागुऔसध कारोबारीसहित ठूलो संख्यामा गाँजा कारोबार गर्नेहरुलाई पक्राउ गर्दै आएको छ। पछिल्लो समय कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स,ट्रक तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् ।
कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ। प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको जनाएको छ।
