सुन्दरहरैचामा ९२ औं तामाङ पहिचान दिवस मनाइयो
बिराटनगर : मोरङको सुन्दरहरैचामा ९२ औं तामाङ पहिचान दिवस मनाइएको छ। सुन्दरहरैचा ५ अन्तर्गत पर्ने नमुना सामुदायिक वनको ब्लक नम्बर १मा रहेको बुद्ध बिहार गुम्बा परिसरमा वृक्षारोपण गर्दै ९२ औं तामाङ पहिचान दिवस मनाइएको हो। तामाङ पहिचान दिवसलाई फरक ढंगले मनाउदै गुम्बा परिसरमा अम्बा,सिरिस,लिची आँप लगायतको बिरुवा पनि रोपिएको नेपाल तामाङ युवा घेदुङ सुन्दरहरैचाका नगर अध्यक्ष सोनम सिङ्दन तामाङले जानकारी दिए।
बृक्षरोपण कार्यक्रममा नेपाल तामाङ युवा घेदुङ इटहरीका युवाहरुको पनि सक्रिय सहभागीता रहेको थियो। राज्यबाट तामाङ भन्न र लेख्न समेत बन्चित गराइँदै आएको तामाङहरुलाई तत्कालिन श्री ३ भिम शम्शेरले अब उप्रान्त तामाङ भन्न र लेख्न पाउने भनी वि.स. १९८९ भदौ ६ गते इस्तिहार जारी भएको दिनलाई तामाङहरुले पहिचान दिवस भनेर मनाउने गरेको बताईएको छ ।

त्यसअघि तामाङहरुलाई तामाङ भएपनि तामाङ नभनि लामा भोटे, मुर्मि आदि भन्ने गरिन्थ्यो। तत्कालिन अवस्थामा भारतमा पलायन हुन बाध्य पारिएका सरदार बहादुर जङ्वीर तामाङले बिन्तीपत्र चढाएपछि श्री ३ भिम शम्शेरले सीता महारानी (दिलकुमारी ब्लोन) को समेत आग्रहमा इस्तिहार जारी गरेको लिखित प्रमाण पाइन्छ।
कार्यक्रममा बोल्दै नमुना सामुदायिक वन तथा हसिना सिमसारका अध्यक्ष घनश्याम न्यौपानेले यसअघि पनि बुद्ध बिहार गुम्बालाई केहि बजेट आएको थियो र त्यति बेलाका गुम्बाका अध्यक्ष लगायत समितिलाई सम्झौता गर्न निकै गाह्रो भएको बेला सबै मिलेर समस्या समाधान गरेको प्रशंग उल्लेख गर्दै यस पटकको बजेट निकासा हुँदा त्यस्तो समस्या नआउने बिश्वास ब्यक्त गरे। हसिना सिमसारमा पनि धमाधम फलफूलको बिरुवा रोप्ने कार्य भइरहेको र यताबाट पनि नेपाल तामाङ युवा घेदुङले बिभिन्न फलफूल बिरुवा रोपेर वनलाई हराभरा बनाउने तर्फ लागि परेको बताए।
