जनसंख्या बढ्यो, स्वास्थ्य सेवा पछि पर्यो : इटहरीमा स्वास्थ्य सुधारको बहस
इटहरी । इटहरी अस्पतालको गुणस्तर वृद्धि र विशिष्टीकृत स्वास्थ्य संस्थाको स्थापना गर्नुपर्ने इटहरीका सरोकारवालाहरूले माग गरेका छन् ।इटहरीमा पछिल्लो १० वर्षमा तीव्र गतिमा जनसङ्ख्या वृद्धि भए पनि सो अनुपातमा स्वास्थ्य सेवाको विकास सुस्त भएको बारे इटहरीवासीले चिन्ता व्यक्त गरेका छन् ।
इटहरीको स्वास्थ्य भविष्य, गुणस्तरीय स्वास्थ्य सेवामा आत्मनिर्भरता विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरूले भोग्नु परेको समस्या र भविष्यमा इटहरीको स्वास्थ्य बारे आफ्ना योजना सुनाएका छन् ।
लायन्स क्लब अफ इटहरी र ‘योगदान राष्ट्रका लागि’ संस्थाको आयोजना गरेको हो । अन्तर्क्रिया कार्यक्रममा युवा अगुवा डिल्ली आचार्यले इटहरीमा डायलाइसिस मेसिन भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । आचार्यले डायलसिस मेसिन छोपेर राख्न १५ लाख रुपैयाँ खर्च गरिएको तर सञ्चालनमा ल्याउन स्थानीय सरकारले चासो नदिइएको बताए ।नरबहादुर कर्माचार्य पोलिटेक्निक इटहरीका अध्यक्ष निर्मल बरालले आधारभूत स्वास्थ्य सेवा तथा कतिपय औषधीहरू निःशुल्क भए पनि सबै नागरिकसम्म प्रभावकारी रूपमा नपुगेको बताए ।
स्थानीय नेता रमेश खत्रीले इटहरी अस्पतालको सेवा तथा व्यवस्थापनमा व्यापक सुधार आवश्यक रहेको बताए । अस्पतालको एक्स–रे मेसिन बिग्रिएर लामो समयसम्म मर्मत नभएको, आधारभूत तथा स्वास्थ्य बीमाले समेटेका औषधिसमेत उपलब्ध नहुने अवस्था रहेको बताए । लायन्स क्लब अफ इटहरी एक्टिभका अध्यक्ष बलबहादुर न्यौपानेले इटहरी अस्पतालको भवन र सेवा क्षमता विस्तार गर्नुपर्ने बताए । अस्पतालमा रहेका उपकरणहरू प्रयोगविहीन भएर थन्किनु दुःखद भएको बताउँदै अस्पतालको सुधारका लागि सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्ने बताए ।
अन्तर्क्रिया कार्यक्रममा इटहरीको स्वास्थ्यसम्बन्धी दीर्घकालीन योजना निर्माणमा आफूहरू सक्रिय रहेको डा. खगेन्द्र ओलीले जानकारी दिए ।
कार्यक्रमको सुरुवातमा कार्यपत्र प्रस्तुत गर्दै उनले विगतका अभ्यास, तथ्याङ्क तथा सर्वेक्षण नतिजाको विश्लेषण र विज्ञहरूको सुझावका आधारमा दीर्घकालीन योजना बनाउने र सार्वजनिक गर्ने बताए । तयार गरिने योजनाको आधारमा स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थालाई नीति बनाउन सजिलो हुने स्पष्ट पारे ।
