कोशीबाट देउवा–शेखर सहकार्यको संकेत, कांग्रेसका दुई समूहको आज संयुक्त भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समय अलग–अलग राजनीतिक गतिविधि गर्दै आएका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहबीच सहकार्यको संकेत देखिएको छ। सोही क्रममा आज विराटनगरमा दुवै समूहको संयुक्त कोशी प्रदेशस्तरीय भेला आयोजना हुँदै छ।

१४औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रतिस्पर्धामा उत्रिएका डा. कोइरालालाई भेलाको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। कोशी प्रदेश कांग्रेसका महामन्त्री भुपेन्द्र राईका अनुसार यो कार्यक्रम देउवा समूहको पुरानो टिम र कोइराला समूहको संयुक्त आयोजनामा हुन लागेको हो।

उनका अनुसार कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्यको सुरुवात गर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको हो। यसअघि देउवा समूहले अन्य प्रदेशमा गरेका भेलामा कोइराला पक्षका नेताहरू सहभागी भएका थिएनन्।

विराटनगरस्थित मनास्लु होटलमा हुने भेलामा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउदलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम पनि प्रमुख वक्ताका रूपमा प्रचार सामग्रीमा समावेश गरेपछि उनले पूर्वसल्लाहबिना नाम राखिएको भन्दै असन्तुष्टि जनाएका छन्।कांग्रेसको आन्तरिक समीकरणमा नयाँ सन्देश दिन सक्ने अपेक्षासहित आयोजना गरिएको यो भेला राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *