सुन्दरहरैंचामा हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैंचा,
मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम शनिबार सुन्दरहरैंचा–९, विराटचोकस्थित जेसिज मंगल स्मृति प्रतिष्ठानको प्राङ्गणमा सम्पन्न भएको हो।
साधारणसभामा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाई प्रमुख अतिथि रहनुभएको थियो भने, संस्थाका अध्यक्ष हेमराज सुवेदीले सभाको अध्यक्षता गर्नुभएको थियो।
साधारणसभाको सुरुवातमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
प्रमुख अतिथि गुरागाईले सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भरता, उत्पादन र समुदाय विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै भने,
“सहकारीहरूले उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिएर अघि बढेमा स्थायी आर्थिक रूपान्तरण सम्भव छ।”
उहाँले हातेमालो सहकारीको निरन्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा सहकारीका पदाधिकारी, सेयर सदस्य, स्थानीय समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा संस्थाको वार्षिक प्रगति विवरण, नीति, कार्यक्रम र बजेटमाथि विस्तृत छलफल गरिएको थियो।
सोही अवसरमा सहकारीले जेष्ठ सेयर सदस्य, उत्कृष्ट ऋणी, नियमित बचतकर्ता, बाल बचतकर्ता र उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा प्रशंसा पत्र वितरण गरेको थियो।
त्यस्तै, सहकारीले सञ्चालन गरिरहेको हातेमालो लघु उद्योगमा कच्चा पदार्थ उपलब्ध गराउने सेयर सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।
अध्यक्ष हेमराज सुवेदीले संस्थाले आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्दै भने,
“हातेमालो सहकारीले उत्पादन र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै सामुदायिक विकासको नयाँ उदाहरण प्रस्तुत गरेको छ।”
सहभागीहरूका अनुसार, साधारणसभाले हातेमालो सहकारीको २३ वर्षे सफल यात्रालाई अझ सबल र उद्देश्यपूर्ण बनाएको छ।
