तोड़फोडपछि पनि सेवा भाव कायम: निवर्तमान नगर प्रमुख ढकाल सरसफाई अभियानमा सक्रिय
सुन्दरहरैंचा,
हालै भएको जेन-जी आन्दोलनका क्रममा केही असामाजिक तत्त्वहरूले घुसपैठ गरी सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगर प्रमुख शिव प्रसाद ढकालको निजी घरमा तोडफोड गरे पनि ढकालले त्यस घटनाबाट निराश नभई नगरको सरसफाई अभियानमा निरन्तर सक्रियता देखाएका छन्।
गत साता भएको प्रदर्शनमा शान्तिपूर्ण आन्दोलनलाई भड्काउने प्रयास भएको र त्यसकै बहानामा ढकालको घरमा तोडफोड, ढुंगामुढा र नोक्सानी गरिएको थियो। तर घटनापछि समेत ढकालले व्यक्तिगत पीडा भन्दा नगरको हितलाई प्राथमिकता दिँदै सरसफाई तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिएका हुन्।
निबर्तमान नगर प्रमुख ढकाल भन्छन “नगर हाम्रो साझा घर हो। मेरो निजी घरमा तोडफोड भयो भन्ने कुरा पीडादायी छ, तर नगरको सरसफाई र विकास थाँति राख्न मिल्दैन। हिंसाले कहिल्यै समाधान दिन्दैन, सकारात्मक कार्यबाट मात्र परिवर्तन सम्भव हुन्छ।”
आगजनी क्षतिभएको नगरको भवनमा आज सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । यस अभियानमा नगरपालिकाका नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , कर्मचारी, जनप्रतिनिधि, उधोग बाणिज्य संघ, महिला समूह, युवा क्लब, स्थानीय संघ संस्था र स्वयंसेवक लगायतको सक्रिय सहभागिता देखिएको थियो।