सुन्दरहरैंचा जाग्दै छ, टुटेका मनहरू जोडिँदै छन्
एलएन गच्छदार, सुन्दरहरैंचा, मोरङ
गत केही दिनदेखि सुन्दरहरैंचा नगरपालिका एउटा अन्धकारमय अध्यायको साक्षी बन्यो। जेन-जेड आन्दोलनका नाममा शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेका बेला केही असामाजिक तत्त्वहरूले घुसपैठ गरी आन्दोलनलाई हिंस्रक रूप दिँदा नगर ध्वस्त भयो।
सडकमा उडेको धुलो केवल धुलो थिएन, त्यो असन्तोष, पीडा र रगतसँग मिसिएको आँसु थियो। नगरको पहिचानमाथि खतरा पैदा भयो, र लामो समयको विकास एकै रातमा ध्वस्त भएको जस्तो अनुभव भयो।
नगरको गर्व मानिएको नेपालीरिका होटल, उधोगी भोलेश्वर दुलालले जसलाई ३२ वर्षको अथक परिश्रम र समर्पणले निर्माण गरिएको थियो, अहिले खरानीको ढिस्को बनेको छ। अरबौंको क्षति भएको यो होटलसँगै वरिपरिको निजी संरचनाहरूमा तोडफोड गरियो, चोरी र लुटपाट मचाइयो। सयौं मानिसको प्रत्यक्ष रोजगारी र हजारौंको अप्रत्यक्ष रोजगारी एकैपटक खोसियो। होटलका ढुंगामाटामा मात्र होइन, त्यहाँका कर्मचारीको सपना र जिविकोपार्जन पनि जल्यो।
यस अराजकताबाट नगरका प्रमुख नेताहरू समेत अछुतो रहेनन्। नगर प्रमुख केदार प्रसाद गुरागाईंको घरमा आक्रमण र तोडफोड भयो। पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको घरमा समेत क्षति पुग्यो। त्यस्तै, पूर्व मन्त्री भानुभक्त ढकालको घरमा आगजनी गरियो। यी घटनाले स्पष्ट देखायो कि हिंसाको ज्वालामा कसैलाई बचेको ठाउँ थिएन। व्यक्तिगत सम्पत्तिदेखि सार्वजनिक संरचना र नगरको गौरव सबै जल्यो, भत्कियो र माटोमा मिसियो।
तर, विनाश केवल अन्त्य होइन, नयाँ सुरुवातको संकेत पनि हो। हिंसाको श्रृङ्खला रोकिएसँगै अब सुन्दरहरैंचा बिस्तारै जाग्दै छ। नष्ट भएको नगरलाई पुनः उठाउन सामूहिक प्रयास सुरु भएको छ। सुन्दरहरैंचा उद्योग वाणिज्य संघले नगरका विभिन्न संघसंस्था, राजनीतिक दल, नागरिक समाजका अगुवा र समुदायका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ। सबैको साझा चाहना एउटै छ – नगरमा सद्भाव कायम गर्न, भत्किएका संरचनाको पुनर्निर्माण गर्न र हिंसामा संलग्नलाई कानूनी कारबाही गर्न।
उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले भने,“सुन्दरहरैंचाको पहिचान हामी सबैको साझा सम्पत्ति हो। यो नगरलाई पुनः उठाउने जिम्मेवारी पनि हामी सबैको हो। हामी एक भएर मात्र यसलाई पुनः जीवन दिन सक्छौं।”
हिंसाले पुरानो पीडा अझै गहिरो बनायो, तर यसले नयाँ पुस्तालाई जागरण पनि दियो। सुन्दरहरैंचाका युवाहरू अब हिंसाको बाटो होइन, रचनात्मकतामा लाग्नुपर्ने आवश्यकता महसुस गरिरहेका छन्। उनीहरूले नगरलाई उठाउन विचार, योजना र उद्यमशीलतामार्फत योगदान गर्नुपर्ने सन्देश समाजभर फैलिएको छ।
नेपाल पत्रकार महासंघका सह-सचिव रेवती निरौला भन्छन –” जेन-जेडको नाममा हिंसा होइन, परिवर्तनका लागि विचार ल्याउनुपर्छ। नयाँ पुस्ताले हातमा ढुंगा होइन, सपनाको नक्सा र विकासका योजना लिनुपर्छ।”
अहिले सुन्दरहरैंचामा बिस्तारै सामान्य जनजीवन फर्किंदैछ। धमाधम बन्द रहेका व्यापार व्यवसाय पुनः खुलिरहेका छन्। विद्यालयमा पठन-पाठन सुरु भएको छ। मानिसहरू आफ्नो दिनचर्या सामान्य बनाउन खोजिरहेका छन्। तर भित्रभित्रै उनीहरूको मनमा अझै डर र असुरक्षा बाँकी छ। त्यसैले सबैको चाहना एउटै छ- सुन्दरहरैंचामा भयरहित समाज, शान्ति सुरक्षा र दीगो विकास।
भत्किएका भवनहरू फेरि निर्माण गर्न सकिन्छ, तर भत्किएका मनहरू जोडिन धेरै समय लाग्छ। त्यसैले अबको सबभन्दा ठूलो चुनौती भौतिक पुनर्निर्माण मात्र होइन, विश्वास र सद्भावको पुनर्निर्माण पनि हो।
रातको अँध्यारो जस्तोसुकै घना बादल भए पनि बिहानको सूर्य उदाउँछ।
आज सुन्दरहरैंचा पनि आफ्नो अँध्यारोबाट बाहिर निस्कँदैछ- टुटेका मन जोड्दै, सद्भावको बाटो समाउँदै र नयाँ यात्राको प्रारम्भ गर्दै।
यस नगरका बासिन्दाले अब मायाले, एकताले र आशाले नगरलाई पुनः निर्माण गर्ने संकल्प गरेका छन्।
सुन्दरहरैंचा बिस्तारै पुनः उठ्दैछ, र यो केवल शहरको पुनर्निर्माण होइन, यो यहाँका हरेक बासिन्दाको सपना, विश्वास र जीवनको पुनर्निर्माण हो।