सुन्दरहरैंचामा लागुऔषध र साइबर अपराधविरुद्ध अभियान, प्रहरीलाई १५ थान लाइट ज्याकेट हस्तान्तरण
एलएन गच्छदार
मोरङ, सुन्दरहरैंचा – “घर टोल सफा राखौं, जिम्मेवार नागरिकको पहिचान दिऔं” भन्ने नाराका साथ सुन्दरहरैंचामा लागुऔषध तथा दुर्ब्यसनीविरुद्धको अभियान सम्पन्न भएको छ। समाजलाई सुरक्षित, सचेत र स्वस्थ बनाउने उद्देश्यका साथ सुन्दरहरैंचा–६ ज्योति माध्यमिक विद्यालयमा सुन्दरहरैंचा–६ ज्योति टोल विकास संस्था र लायन्स क्लब अफ गछियाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्घाटन निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालले गर्नुभयो। उहाँले लागुऔषध तथा दुर्ब्यसनी समाजका लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै यसलाई नियन्त्रणका लागि समुदाय, प्रहरी र स्थानीय निकायबीच सशक्त समन्वय आवश्यक रहेको बताउनुभयो। ढकालले यस्ता सचेतनामूलक अभियानले सामूहिक जागरण जगाउने भन्दै निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा लायन्स क्लब अफ गछियाका संस्थापक अध्यक्ष मातृका चापागाईंले संस्थाले हालसम्म गरेका विभिन्न सामाजिक सेवामूलक कार्यको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। यस क्रममा सामाजिक उत्तरदायित्वको उदाहरण स्वरूप एक अशक्त वृद्धालाई ह्वीलचेयर प्रदान गरिएको थियो। यसले समुदायभित्र कमजोर र अपाङ्ग व्यक्तिप्रति संवेदनशीलता र सहयोगको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
सचेतना सन्देशका क्रममा डा. सन्दिप पोखरेलले लागुऔषध सेवनले स्वास्थ्यमा पार्ने गम्भीर नकारात्मक असरबारे जनचेतना फैलाउनुभयो। उहाँले लागुऔषध केवल व्यक्तिगत स्वास्थ्यमा नभई परिवार र समाजमा समेत विनाशकारी असर पार्ने भएकाले यसबाट टाढा रहन सबैलाई आग्रह गर्नुभयो।
त्यस्तै, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख तथा निरीक्षक कृष्ण बहादुर खत्रीले साइबर अपराधका जोखिमबारे जानकारी गराउँदै सचेतना सन्देश दिनुभयो। उहाँले इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत विवरण गोप्य राख्न आग्रह गर्नुभयो।
प्रहरीलाई १५ थान लाइट ज्याकेट हस्तान्तरण
कार्यक्रमकै अवसरमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय गछियाका प्रमुख तथा प्रहरी सहायक निरीक्षक गणेश दाहाललाई १५ थान लाइट ज्याकेट हस्तान्तरण गरिएको छ।
ज्याकेट हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष मातृका चापागाईंले सुरक्षाकर्मीलाई सहयोग गर्न पाउनु समुदायको कर्तव्य भएको उल्लेख गर्नुभयो। उहाँले समुदाय र सुरक्षाकर्मीबीचको आपसी विश्वास र सहकार्यबाट मात्र अपराध नियन्त्रण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
ज्याकेट ग्रहण गर्दै प्रहरी सहायक निरीक्षक गणेश दाहालले समुदायको साथ र समर्थनले प्रहरीलाई अझै उत्साहका साथ जनताको सेवा गर्न प्रेरणा दिने बताउनुभयो। उहाँले लागुऔषध नियन्त्रण, साइबर अपराध र समाजमा शान्ति सुरक्षाको प्रवर्द्धनका लागि प्रहरी निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ गछियाका अध्यक्ष हेमन्त भट्टराईले भने, “हामी समाजका सबै वर्गसँग सहकार्य गर्दै, विशेषगरी युवाहरूलाई लागुऔषध र दुर्ब्यसनीबाट बचाउन निरन्तर अभियान चलाउने प्रतिबद्ध छौं। यस किसिमका कार्यक्रमले समुदायलाई जिम्मेवार नागरिकको रूपमा अघि बढ्न प्रेरणा दिनेछ।”
टोल विकास संस्थाका अध्यक्ष कुमार श्रेष्ठले दुर्ब्यसनी विरुद्ध अभियानको महत्वबारे आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो, “दुर्ब्यसनी र लागुऔषध युवापुस्तामा मात्र नभई पुरै समाजमा नकारात्मक असर पार्छ। यसबाट टाढा रहन सचेत रहनुपर्नेछ। हामी टोल स्तरमै यस विषयमा जनचेतना फैलाउँदै, युवा र परिवारसँग समन्वय गरेर सुरक्षित वातावरण निर्माण गर्न प्रतिबद्ध छौं।”
सहकार्य र सामूहिक प्रयासको आवश्यकता
यो अभियान इलाका प्रहरी कार्यालय गछिया, केन्द्र पोलिक्लिनिक तथा रियमण्ड फेलोसिप मोरङ उपचार तथा पुनःस्थापना केन्द्र विराटनगरको सहकार्यमा सम्पन्न गरिएको हो।
कार्यक्रमले समुदायमा लागुऔषध, साइबर अपराध र सामाजिक सुरक्षा सम्बन्धी सचेतना फैलाउनुका साथै प्रहरी र समुदायबीच सहकार्यको नयाँ आयाम स्थापित गरेको आयोजक संस्थाले जनाएको छ।
समापन मन्तव्यमा निवर्तमान नगरप्रमुख ढकालले अभियानलाई निरन्तरता दिँदै समाजलाई लागुऔषध मुक्त र सुरक्षित बनाउने प्रतिबद्धता जनाउन सबै पक्षलाई आग्रह गर्नुभयो।