प्रदेशकै ठूलो इनडोर स्केट जोन सुन्दरहरैंचामा सञ्चालनमा, खेलकुद र पर्यटन प्रवर्द्धनमा टेवा

एलएन गच्छदार, सुन्दरहरैंचा, मोरङ।
बालबालिका र युवाहरूको मनोरञ्जन र खेलकुद विकासका लागि सुन्दरहरैंचा नगरपालिका वडा–१० मा बिराटचोक स्केट जोन शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रदेशकै सबैभन्दा ठूलो मानिएको यो इनडोर स्केट जोन युवाहरूको संयुक्त लगानीमा निर्माण गरी संचालनमा ल्याइएको हो।

उद्घाटन समारोहका क्रममा वडा–१० का अध्यक्ष राजकुमार राईले रिबन काटी बिराट स्केट जोनको शुभारम्भ गरे। उद्घाटन गर्दै उनले स्केटिङ जस्तो नयाँ खेलको विकासले बालबालिका र युवाहरूलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउन, शारीरिक र मानसिक विकासमा योगदान पुर्‍याउन तथा नगरको पर्यटन र समग्र विकासमा टेवा पुर्‍याउने बताए।

वडा–९ का अध्यक्ष प्रकाश श्रेष्ठले स्केट जोनको स्थायी व्यवस्थापन, खेलाडीको सुरक्षा र अनुशासनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

स्केट जोनका सञ्चालक मेख रानाका  अनुसार यो इनडोर स्केट जोन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको हो। भवन निर्माणदेखि व्यवस्थापनसम्मका सबै पक्षमा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उनले बताए। “प्रदेशकै सबैभन्दा ठूलो र आधुनिक स्केट जोन हो यो,” उनले दाबी गर्दै भने, “बालबालिका र युवाहरूलाई स्वस्थ मनोरञ्जन दिने मात्र होइन, पर्यटनलाई समेत प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो।”

सञ्चालक रानाले माग र आवश्यकताअनुसार आगामी दिनमा अन्य खेलकुद कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइने योजना रहेको जानकारी दिए।

बिराटचोक स्केट जोन हरेक दिन बिहान ९ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ। यहाँ खेल्न आउने खेलाडीका लागि आवश्यक सुरक्षा उपकरणहरू जस्तै हेल्मेट, स्केटिङ जुत्ता, हातखुट्टाका सेफ्टी गार्ड उपलब्ध गराइएको छ। सुरक्षालाई प्राथमिकता दिँदै टिकट बिना प्रवेश निषेध गरिएको छ र सम्पूर्ण गतिविधि CCTV निगरानीमा रहनेछ।

टिकट दर पहिलो एक घण्टाका लागि रु. २०० कायम गरिएको छ भने थप एक घण्टा खेल्दा रु. १०० प्रति घण्टा तिर्नु पर्ने व्यवस्था गरिएको छ। ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा विशेष प्याकेज योजना ल्याइने स्केट जोन सञ्चालकले जानकारी दिएका छन्।

खेलाडीको सुरक्षा र व्यवस्थापनलाई सुनिश्चित गर्न विभिन्न नियम तथा सावधानीहरू लागू गरिएको छ। स्केट खेल्दा पूर्ण सुरक्षा सामग्री (फुल सेफ्टी गियर) अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। स्केटिङ जुत्ता लगाउँदा मोजा लगाउनु आवश्यक छ। स्केटिङ खेल खतरापूर्ण हुन सक्ने भएकाले सक्षम र स्वस्थ व्यक्तिहरूलाई मात्र खेल्न सिफारिस गरिएको छ। खेलका क्रममा चोटपटक लागेमा स्केट जोन जिम्मेवार नहुने जानकारी पनि दिइएको छ।

मादक पदार्थ सेवन गरेका व्यक्ति वा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई स्केट खेल निषेध गरिएको छ। त्यस्तै, १२ वर्षभन्दा कम उमेरका बालबालिका वा १.५ मिटरभन्दा कम उचाइ भएका खेलाडीहरूले अभिभावकसहित मात्र खेल्न पाउने नियम बनाइएको छ। स्केटिङ जुत्ता लगाएर स्केटिङ एरियाबाहेक अन्य स्थानमा जान पाइने छैन।

खेलाडीले जथाभावी स्टन गर्ने क्रममा स्केट जुत्ता बिग्रिएमा मर्मत खर्च ५० प्रतिशत स्केट जोन र ५० प्रतिशत खेलाडीले व्यहोर्नु पर्ने व्यवस्था गरिएको छ। पहिलो पटक खेल्न आउनेहरूले अभ्यासका क्रममा रेलिङ समात्दै खेल्नुपर्ने नियम लागू गरिएको छ। साथै, खेलाडीले आफ्ना बहुमुल्य सामानको सुरक्षा आफैं गर्नुपर्नेछ, अन्यथा स्केट जोन त्यसका लागि जिम्मेवार हुने छैन।

नियम उल्लङ्घन गर्ने खेलाडीलाई खेल्ने अनुमति नदिइने स्केट जोनले स्पष्ट गरेको छ। यसका साथै, सबैलाई नियम पालना गर्दै सुरक्षित र रमाइलो खेलकुदमा सहभागी हुन अनुरोध गरिएको छ।

सञ्चालक रानाका  अनुसार, स्केट खेल पछिल्लो समय बालबालिका र युवाहरूबीच लोकप्रिय बन्दै गएको छ। यो खेलको विकासले स्थानीय पर्यटनमा वृद्धि, व्यवसायिक अवसर सिर्जना र नगरको समग्र विकासमा महत्वपूर्ण योगदान गर्नेछ।

उनका अनुसार यो स्केट जोन प्रदेशभरका खेलप्रेमीलाई आकर्षित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सुविधा र वातावरणसहित निर्माण गरिएको हो। स्केटिङका माध्यमबाट सुन्दरहरैंचालाई नयाँ खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याक्खा, उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र प्रसाद दाहाल, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय अभिभावक तथा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *