सुन्दरहरैंचामा लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतना, श्रुतिलेखन प्रतियोगिता र शैक्षिक सामग्री वितरण
सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बाल सञ्जालको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा लागूऔषध दुव्र्यसनी चेतना कार्यक्रम, श्रुतिलेखन प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालको अध्यक्षता तथा वडा नं. १० का अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरीले लागूऔषध दुव्र्यसनसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएका थिए। उनले पछिल्लो समय युवापुस्तामा लागूऔषधको प्रयोग बढ्दो चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको असर व्यक्ति, परिवार र समाजमा गम्भीर हुने बताए। लागूऔषध सेवनले स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने भएकाले समयमै सचेत हुन आवश्यक रहेको उनको भनाइ थियो।
इन्सपेक्टर गिरीले विद्यार्थीहरूलाई खराब संगतबाट टाढा रहन, आत्मविश्वास अभिवृद्धि गर्न तथा सिर्जनात्मक र सकारात्मक गतिविधिमा सक्रिय हुन आग्रह गरे। उनले लागूऔषध दुव्र्यसन रोकथामका लागि विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।
सोही अवसरमा आयोजित श्रुतिलेखन प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सिद्धार्थ सेकेण्डरी स्कुल प्रथम, बालप्रतिभा सेकेण्डरी स्कुल द्वितीय तथा हिमालय इङ्लिस स्कुल तृतीय भएका थिए। विजेता विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार राईले विद्यार्थीहरूमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सामाजिक चेतना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले वडा कार्यालयले बालबालिकाको क्षमता विकास, नेतृत्व विकास तथा सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउने कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गरे।
“लागूऔषध दुव्र्यसन आजको समाजको गम्भीर समस्या बनेको छ। यसबाट युवापुस्तालाई जोगाउन विद्यालय, अभिभावक, समुदाय र राज्य सबै पक्ष जिम्मेवार बन्नुपर्छ,” उनले भने। श्रुतिलेखन प्रतियोगिताले विद्यार्थीहरूको भाषिक क्षमता विकास र अध्ययनप्रतिको रुचि बढाउन सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष अर्जुन दाहालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल सञ्जालले विभिन्न रचनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले बालबालिकालाई कुलत, दुर्व्यसन र सामाजिक विकृतिबाट जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।
“आजका बालबालिका भोलिका कर्णधार हुन्। उनीहरूलाई सही मार्गदर्शन र अवसर प्रदान गर्न सके मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ,” उनले भने।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो। यसले विद्यार्थीहरूको अध्ययनप्रति थप उत्साह बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। नगर बाल सञ्जालकी सचिव शिक्षा खनालले सञ्चालन गरेको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले कार्यक्रमले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभिवृद्धि गर्न तथा विद्यार्थीहरूको शैक्षिक, बौद्धिक र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।





