नागरिकता कसुर मुद्दामा वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
काठमाडौं । नागरिकता सम्बन्धी कसुर मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई सोमबार बिहान पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आदेशअनुसार खोजी कार्य तीव्र पारिएको अवस्थामा उनलाई ठोरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सिंहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
यस घटनापछि वीरगञ्ज महानगरपालिकाको राजनीतिक तथा प्रशासनिक वृत्तमा समेत चासो बढेको छ। नागरिकता सम्बन्धी कसुरको आरोपमा पक्राउ परेका सिंहमाथि अदालतको आदेशअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढ्ने प्रहरीको भनाइ छ।
