बालेनको सीमा अभिव्यक्तिपछि राजनीतिक तरंग, भारत पुगे रवि लामिछाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको नेपाल–भारत सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको राजनीतिक तरंग जारी रहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणमा निस्केका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँदिल्ली पुगेका लामिछानेलाई भाजपाका शीर्ष नेताहरूले विमानस्थलमै स्वागत गरेका छन्।

भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेलाई स्वागत गरेका थिए। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

यता, प्रधानमन्त्री शाहले आइतबार संसद्मा नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर संसद् र सडक दुवैतर्फ विरोध चर्किएको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउँदै माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध पारेका छन्।

सीमाविद्, कूटनीतिज्ञ तथा पूर्वराजदूतहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र तथ्यहीन भएको टिप्पणी गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको स्पष्टीकरण नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।

यसैबीच, पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको स्थानीय स्रोतले बताएका छन्। यस घटनालाई पनि पछिल्लो सीमा विवादसँग जोडेर हेरिएको छ।

पूर्वराजदूत नीलाम्बर आचार्यले भने रास्वपा सभापति लामिछानेको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सकारात्मक दिशामा लैजान सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार उच्चस्तरीय राजनीतिक भ्रमणहरूले दुई देशबीचको संवाद र विश्वास अभिवृद्धिमा योगदान पुर्‍याउन सक्छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्, प्रदेशसभा तथा विभिन्न राजनीतिक वृत्तमा बहस जारी रहँदा प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *