वर्षापछि फेरि बढ्दै गर्मी, तराई–मधेशमा तातो लहरको जोखिम

काठमाडौं । पछिल्ला केही दिनको वर्षाले राहत महसुस गरेका सर्वसाधारणले अब पुनः बढ्दो गर्मीको सामना गर्नुपर्ने भएको छ। मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म वर्षाको सम्भावना न्यून रहेकाले देशका अधिकांश क्षेत्रमा तापक्रम बढ्दै जाने र विशेषगरी तराई–मधेशमा गर्मीको प्रभाव तीव्र हुने देखिएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मनसुन प्रणाली अझै नेपाल प्रवेश गरिनसकेको र पश्चिमी वायुको प्रभाव पनि कमजोर बन्दै गएकाले आगामी दिनहरूमा गर्मी क्रमशः बढ्ने संकेत देखिएको छ। उनका अनुसार तराई–मधेशका जिल्लाहरूमा तापक्रम अझ बढी बढ्ने सम्भावना छ।

“आउँदो एक हप्ता सहज देखिँदैन। वर्षा कम हुने भएकाले विशेषगरी तराई क्षेत्र पुनः अत्यधिक गर्मीको चपेटामा पर्न सक्छ,” उनले भने।

मौसमविद्हरूका अनुसार मनसुनी बादल भारतको केरला क्षेत्रमा पुगे पनि यसको घनत्व र गति कमजोर रहेकाले नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्न सक्छ। प्रारम्भिक चरणको मनसुन पनि कमजोर रहने अनुमान गरिएको छ।

यसअघि विभिन्न मौसमी प्रणाली सक्रिय हुँदा देशका विभिन्न स्थानमा वर्षा भएको थियो। वर्षासँगै तापक्रम घटेपछि केही दिन शीतल मौसम अनुभव गरिएको थियो। तर अब वर्षाको गतिविधि कमजोर बन्दै जाँदा तापक्रम फेरि उकालो लाग्ने संकेत देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मधेश प्रदेश तथा कोशी प्रदेशका तराई जिल्लाहरूमा तातो दिनको अवस्था विकसित हुन सक्ने सम्भावना छ। विभागले सोमबार साँझ जारी गरेको मौसम बुलेटिनमा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन तथा गर्मीको प्रभाव बढ्न सक्ने उल्लेख गरेको छ।

विभागका अनुसार पछिल्ला तीन दिनमा देशको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन। तर अब वर्षा कम हुने क्रमसँगै तापक्रम बढ्ने र केही तराई क्षेत्रमा तातो लहरसमेत देखिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *