कोशीका कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पहल, तेस्रो मुलुक निर्यातमा जोड
सुनसरी । कोशी प्रदेशमा उत्पादित उच्च मूल्यका कृषि उपजहरूको मूल्य श्रृंखला विकास गर्दै अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार गर्ने विषयमा विराटनगरमा सरोकारवालाबीच व्यापक छलफल भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) को संयुक्त आयोजनामा शनिबार ‘उच्च मूल्य कृषिवालीको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धन’ विषयक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले अलैंची, अदुवा, बेसारलगायतका कृषि उत्पादनको उत्पादन वृद्धि र निर्यात विस्तारका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए। उनले निजी क्षेत्रलाई स्पष्ट योजना, पूर्वाधार आवश्यकतासहित अघि आउन आग्रह गर्दै सरकार सहकार्यका लागि तयार रहेको उल्लेख गरे।
आइएफसीका दक्षिण एशिया क्षेत्रका सिनियर अपरेशन अफिसर विजय शेकरले नेपाली कृषि उत्पादन हाल भारतीय बजारमा बढी निर्भर रहेको भन्दै अब तेस्रो मुलुकमा निर्यात विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले गुणस्तर मापदण्ड, प्राविधिक समस्या तथा निर्यात प्रक्रियामा देखिएका चुनौती समाधान गर्न आइएफसी र निजी क्षेत्रबीच सहकार्य गरिने जानकारी दिए।
आइएफसीका कन्सल्टेन्ट राजन शर्माले कोशी प्रदेशको कृषि उत्पादनसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै निर्यात वृद्धि गर्न आवश्यक नीतिगत सुधार, बजार सम्भावना तथा मूल्य श्रृंखला विकासबारे प्रस्तुतीकरण दिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठले चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज तथा जडीबुटीजस्ता उत्पादनको निर्यात प्रवर्द्धनका लागि आइएफसीसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताए।
कार्यक्रममा सहभागी सरकारी अधिकारीहरू पशुपति पोखरेल, मनोज यादव र पुष्पलाल राईले कोशी प्रदेशमा गुणस्तर परीक्षणका लागि आधुनिक प्रयोगशालाको अभाव रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजार विस्तारमा निजी क्षेत्र सक्रिय हुनुपर्ने धारणा राखे।
त्यस्तै, व्यवसायी निर्मल भट्टराई र राजन आचार्यले कृषि उत्पादन प्रशोधनका लागि आधुनिक ड्रायरको व्यवस्था गर्न तथा तेस्रो मुलुक निर्यातका लागि संघीय र प्रदेश सरकारले स्पष्ट र व्यवहारिक नीति ल्याउनुपर्ने माग गरे। युवा उद्यमीहरू प्रतिक राउत, युनेश श्रेष्ठ र अविनायक मल्लले उत्पादनको गुणस्तर सुधार, तालिम तथा प्रविधि हस्तान्तरणमा महासंघको नेटवर्क प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा प्रदेश सरकारका विभिन्न महाशाखा प्रमुख, कृषि व्यवसायी तथा कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
